भ्रष्टाचारको मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बन


ब्युटी न्युज नेपाल
काठमाडोँ, २२ जेठ

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बित भएको संसद सचिवालयले जनाएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो । १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले शिलापत्रलाई जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बन भएको छ ।

भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा २०६६ सालमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना पतञ्जलिका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले काष्ठमण्डप हाउजिङ कम्पनीलाई २०६७ साल असार ११ मा बेचेका थिए । तत्कालीन प्रधानमन्त्री नेपालले २०६६ साल माघ १८ गतेको मन्त्रिपरिषद्‌ बैठकबाट हदबन्दी छुटमा जग्गा किन्न दिने निर्णय गराएका थिए । उक्त जग्गा किनेको दुई महिना नपुग्दै २०६६ साल चैत ६ गते मन्त्रिपरिषद्बाट बेच्न स्वीकृति दिलाएका थिए ।

सरकारबाट ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति पाएपछि पतञ्जलिले बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा जग्गा किनेपछि हदबन्दी छुटमा खरिद गरेको त्यो जग्गा बेच्न अनुमति माग्दै पतञ्जलि नेपालका अध्यक्ष सिंहले २०६६ साल फागुन १७ गते निवेदन दिएका थिए । उक्त निवेदन कानुनबमोजिम छ÷छैन भनेर जिल्ला मालपोत कार्यालय र भूमिसुधार विभागबाट राय नै नलिएर बेच्न दिइएको थियो । पछि निर्णय कार्यान्वयनका लागि मात्र मालपोत कार्यालय र भूमि व्यवस्था विभागलाई निर्देशन दिइएको थियो ।

मन्त्रिपरिषद्को निर्णय कानुनविपरीत भएको भन्दै विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँले ‘कार्यान्वयन गर्न नसकिने’ भन्दै फाइल मन्त्रालयमै फर्काइदिएका थिए । बानियाँ कार्यान्वयन गर्न नसकिने भनेपछि उनलाई महानिर्देशकबाट नै हटाइएका थिए ।

नेपालमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी गैरनाफामूलक ट्रस्टका रूपमा २० पुस २०६४ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता छ  । सो दर्ता पतञ्जलि काठमाडौं बौद्ध ठेगाना छ । यसका योगी रामदेव, बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफ सञ्चालक छन् । २०८१ सालमा विभिन्न समयमा हदबन्दी छुट जग्गा किनबेच निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग अख्तियारले बयान लिएको थियो । ुसोही प्रकरणका कारण यतिबेला अख्तियारले माधव कुमार नेपाल बिरुद्ध भ्रस्टाचारको मुद्दा दायर गरेको हो ।