रहेनन् हास्य कलाकार घनश्याम गौतम


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० जेठ

नक्कली प्रचण्डको नामले परिचित हास्य कलाकार घनश्याम गौतमको सोमबार राती १२ः१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उपचारको क्रममा निधन भयो । क्यान्सर रोगको उपचारको क्रममा ४२ वर्षको उमेरमा उनको निधन भएको हो । उनी विगत दुई वर्ष अघिदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए ।

झापाको गौरादहमा जन्मिएका यी कलाकारको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टी गरियो । सडक नाटक हुँदै रंगमञ्चमा नाटकमा अभिनय गरेपछि उनले नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य प्रधान टिभी सिरियल ‘मेरी बास्सै’का विभिन्न सृंखलामा अभिनय गरे । उनी मेरी बास्सैमा नक्कली प्रचण्डको भूमिकामा प्रस्तुत हुने क्रममा नक्कली प्रचण्डको रूपमा लोकप्रिय भएका हुन् ।

उनले विभिन्न हास्य शृंखला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा आफ्नो अभिनय प्रस्तुति दिँदै आएका थिए । गायकको रूपमा पनि परिचित घनश्यामले दर्जनौँ प्यारोडी गीतहरूमा पनि स्वर दिएका थिए ।