नरसिंहः अवतारको पहिलो साताको व्यापार दुई करोड माथि


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

गत शुक्रबारबाट रिलिज भएको अभिनेता राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’ले हिजो शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । यो चलचित्रले दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यसका निर्देशक दिवाकर भट्टराईले बताएका छन् ।

यसैबीच निर्माण पक्षले यो चलचित्रको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको छ ।

फिल्ममा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो फिल्मका लागि स्वयं महानायक हमाल पनि दिलोज्यान दिएर लागेका छन् । फिल्मको प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन् । तर फिल्म ‘नरसिंहाः अवतार’का लागि भने उनी फिल्म रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन् । फिल्म रिलिजको सुरुवाती दिनमा काठमाडौ उपत्यकाका प्रमुख सिनेमा हल पुगेर दर्शकसँग साक्षात्कार गरेका हमाल यतिबेला देश दौडाहामा छन् ।

उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पुरा गरेर यतिबेला पश्चिम नेपालमा छन् । यात्रामा उनलाई फिल्मका अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायतले साथ दिइरहेका छन् ।

फिल्मका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा फिल्मप्रति दर्शकको क्रेज उत्तिकै बढी छ । फिल्म हेर्ने अधिकांश दर्शकले फिल्ममा राजेश हमालको उपस्थितिलाई उत्कृष्ठ मानेका छन् ।

दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आट्र्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।