राजावादीको आन्दोलन सुस्ताएपछि महाभोज अब जेठ ३० मा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ जेठ

नेपाली चलचित्र महाभोज अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । राजावादीहरुको आन्दोलनका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको यो चलचित्रले आज नयाँ रिलिज मिति तोकेको हो । यतिबेला सो आन्दोलन मत्थर हुँदै गएपछि निर्माण पक्षको चलचित्रको रिलिज मिति अर्को सातालाई नै तोकेको हो ।

यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे । यस अघि निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको थियो । यो चलचित्र बिदेशमा भने धमाधम रिलिज भईरहेको छ ।

निर्देशकले भने,‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र महाभोज केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ,’उनले अगाडि भने, ‘अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा ’महाभोज’ हेर्न नबिर्सिनु होला ।’

केही दिनअघि यो चलचित्रको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ चलचित्र हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए । यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो ।

महाभोजमा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।