ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ जेठ
केही समय यताबाट अमेरिका बस्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन् । बरिष्ठ गायिका मिरा राणा र बरिष्ठ संगीतकार दीपक जंगलले दुबै गीतको पोष्टर सार्वजनिक गर्दै गीतको विमोचन गरे । कार्यक्रममा उनका दुई गीत पछ्यौरीको छेउ…र भुतुक्क भएँ नी…को भिडियो पनि सार्वजनिक गरियो ।
दुबै गीतको भिडियोलाई गायक एवम् संगीतकार सुशीलले आफ्नै च्यानलबाट रिलिज गरेका छन् । कार्यक्रममा बिमोचित गीत भुतुक्कै भएँ नीमा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर रहेको छ । रोमाञ्चक भावको यो गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय रहेको छ । यो गीतको संगीत सृजना सुशील विश्वकर्माले नै गरेका हुन् ।
यस्तै अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गायका छन् । यो गीतमा उनलाई गायनमा बिबी अनुरागीले साथ दिएका छन् । यो गीतलाई हेमन्त विवशले लेखेका हुन् । नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरहरूको ब्याथामा यो गीत आधारित छ । गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गरेका छन् ।
यी दुबै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले कोरियोग्राफी, राजेन्द्र पाण्डेले छायांकन एवम् सम्पादन गरेका हुन् । बिमोचन कार्यक्रममा सबैलाई स्वागत गर्दै भिडियो निर्देशक कृष्ण रसालले यसपटक आफुलाई दुई फरक शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको बताए । बिगत चार दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आएका सुशीलले यसपटक निकै राम्रो गीत गाएको पनि उनले बताए ।
गायक एवम् संगीतकार सुशील विश्वकर्माले सबैलाई धन्यबाद दिँदै केही समय यताबाट आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीहरूलाई गीत संगीत नयाँ पुस्तालाई सिकाउँदै आएको बताए । आफू जहाँ रहे पनि संगीत सृजना र गायनलाई निरन्तरता दिने उनको कथन थियो ।
कार्यक्रममा गायिका लोचन भट्टराईले पनि सुशीलको गायनको प्रशंसा गरिन् । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको संगीत र गायन दुबै राम्रो भएको बताए ।
गायिका मिरा राणाले कार्यक्रममा बोल्दै अग्रज रेडियो नेपालमा समुहमा गीत गाउने गरेका सुशीलले एकल रुपमा पनि यसपटक राम्रो गीत गाएको बताइन् । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको पनि उनले जिकिर गरिन् । संगीत सृजनासँगै उनले सुशीललाई गाउन पनि सल्लाह दिईन् ।
संगीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको भन्दै उनलाई यस्ता संगीत सृजनालाई निरन्तरता दिन पनि सुझाब दिए । भिडियो निर्देशक कृष्ण रसालले पनि गीतलाई भिडियोमा जीवन्तसँग ढालेको जंगमले बताए ।
तस्बिर : सुरेन्द्र थापा