ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ जेठ
अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म फेस्टिभलको फाइनलमा नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) पुगेको छ ।
विश्वभरबाट सहभागी १७० देशका ३,५०० भन्दा बढी चलचित्रहरूबाट ३८ चलचित्रहरू छनोट गरिएको छ । अमेरिकाको लस एन्जलसको बेभर्ली हिल्स, फाइन आर्ट थिएटरमा जुन १२ र १३ मा फेस्टिभल आयोजना हुँदैछ । अथेन्टिक ग्लोबल फिल्म फेस्टिभलका संस्थापक डा. गेर्शोम सिकाला, दक्षिणी अफ्रिकाको जाम्बियाका एक हलिउड सेलिब्रेटी, मार्गदर्शक र राजकुमार हुन् ।
सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको इन्टरनेशनल सिने अवार्डमा बेस्ट सर्ट फिल्म, बेस्ट स्टोरी वरीजिनल, बेस्ट डिरेक्टर फेस्टभल मेन्सन अवार्ड प्राप्त गरिसकेको छ । ‘पाउलो’ चीनको स्मलरीग अवार्ड र भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि नोमिनेशनमा परेको थियो । रसियाको किनो फेस्टिभल ‘लाईट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायतका थुप्रै चलचित्र महोत्सवहरुमा ‘पाउलो’ छनोटसमेत भएको थियो । छैटौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सवको (एनसिआईएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाइँले अभिनय गरेका छन् ।
काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । आर्ट डिरेक्सन सुरेन्द्र क्षेत्रीको रहेको छ र सहायक निर्देशन करन साउदले गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको “पाउलो“ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले निर्माण गरेको घुर्रा, भाउ, द स्कूल वाल, एक जोर जुत्ता, दृश्य लगायतका लघुचलचिहरु विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो ।