राजेशको कमब्याकसहित नरसिंहाः अवतार देश भरका हलमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ जेठ

अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ आज शुक्रबारबाट मुलुकका सबैजसो चलचित्र घरमा रिलिज भएको छ ।
चलचित्रले विहानको शोमा ७० देखि ८० प्रतिसतसम्म अक्युपेन्सी पाएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र मुलुकका १०० भन्दा बढी चलचित्र घरमा रिलिज भएको छ ।

यो चलचित्रको ट्रेलरसँगै गीत आच्छा लेकिनले नरसिंहः अवतारप्रति दर्शकको उत्साह बढाएको छ । एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित यो चलचित्रको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

आठ वर्षपछि यो चलचित्र मार्फत अभिनेता राजेश हमाल ठुलो पर्दामा आएका हुन् । चलचित्र प्रति आफु निकै उत्साहित भएको रहेको अभिनेता हमालले बताएका छन् ।
दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रमा राजेशसँगै यो चलचित्रमा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापालगायतको अभिनय छ ।

यो चलचित्रको मुख्य निर्माता नेम महर्जन हुन् । चलचित्रका अन्य निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

नरसिंहाः अवतारमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।