ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ जेठ
म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको हो । कार्यक्रमको संयोजक सबिता पोखरेलका अनुसार यो कार्यक्रम तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने छ ।
म्युजिक अवार्ड कार्यक्रममा यस पटक अग्रज गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।
त्यसैगरी यस वर्षको म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ । यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ ।
यस्तै सो बैठकले यो वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार रंगपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ । दुबै जनालाई नगद राशि ५हजार ५ सय ५५ नगद राशिसहित सम्मान अर्पण गरिनेछ ।
त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । यो वर्ष म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने निर्णय भएको आयोजक पक्षले जनाएको छ । लामो समयदेखि हार्मोनियम मर्मत तथा विक्री गर्दै आएका विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो ।
विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक पत्रकार एवं गीतकार शान्तिप्रिय रहेका छन भने सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल रहेका छन् ।