ब्युटी न्युज नेपाल
काठमाडौँ, २ जेठ
गत शुक्रबार २६ बैशाखमा नेपालका विभिन्न चलचित्र घरमा रिलिज भएको चलचित्र ऊनको स्वीटर’ले पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख रुपैयाँको ग्रस व्यापार गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
यो सँगै चलचित्र आजबाट उच्च शो सहित दोस्रो हप्तामा प्रदर्शन भएको छ । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । सात दिनको अवधिमा देशभरका सिनेमा घरहरूमा दैनिक ३०० भन्दा बढी शोहरू सहित प्रदर्शनमा रहेको यो चलचित्र आजबाट दोस्रो हप्ता प्रवेश गरेको छ ।
यो चलचित्रमा कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेललगायतको अभिनय रहेको छ । यस चलचित्रले दोस्रो हप्तामा पनि करिब २ सय शो पाएको छ । दोस्रो हप्ताको पहिलो दिन पनि दर्शकको चासो उत्तिकै कायम रहेको देखिएको छ । दर्शकहरूको स्वतन्त्र समीक्षाबाट चलचित्रले थप चर्चा कमाइरहेको छ ।
यस चलचित्रको पछिल्लो रिलिज गीत ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटकमा सनसनी मच्चाएको छ । त्यसअघि सार्वजनिक भएका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले पनि करोडौँ श्रोताको मन जितिसकेका छन् । यसको ट्रेलर पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।
यसैबीच, हलमा दर्शकको उत्साहजनक उपस्थिति कायम रहँदा दोस्रो साताबाट देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण थालिने भएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।