१६ औँ डी सिने अवार्ड विभिन्न २१ विधामा प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ जेठ

विभिन्न २१ विधामा ‘१६ औँ संस्करणको डी सिने अवार्ड–२०८० बुधबार काठमाडौँमा एक समारोहबीच प्रदान गरियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड समारोहमा छायांछवि क्रियसनले यो अवार्ड प्रदान गरेको हो ।

नेपाली चलचित्र क्षेत्रमा अढाई दशक भन्दा लामो समयदेखि योगदान दिएको भन्दै चलचित्र रजत सम्मानबाट अभिनेता, निर्माता दीपकराज गिरी र अभिनेत्री रेजिन उप्रेतीलाई सो समारोहमा सम्मानित गरियो । यसै गरी समारोहमा यो वर्षको छायाँछवी चलचित्र पत्रकारिता पुरस्कार गीता अधिकारीलाई प्रदान गरियो । सो कार्यक्रममा संगीत व्यवसायी शिवराज पौडेल, डिजिटल चलचित्र व्यवसायी ओम अग्रवाल, निर्माता नवीन श्रेष्ठ, गायिका अनिता कुँवर पनि मोडल निखिल बिसी र कलाकार प्रिज्योल भण्डारी पनि सम्मानित भए ।

सो अवार्ड समारोहमा २०८० सालको उत्कृष्ट चलचित्रको अवार्ड बुलाकीलाई प्रदान गरियो । उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दिमाग खराबबाट निश्चल बस्नेतलाई दिईयो भने उत्कृष्ट नव निर्देशकको अवार्ड जारीबाट उपेन्द्र सुब्बालाई दिईयो ।

यस्तै उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र अगस्त्यबाट सौगात मल्लले र उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रसाद २ बाट केकी अधिकारीले प्राप्त गरेको सो समारोहमा विशेष चलचित्रको अवार्ड चलचित्र काँडेतारलाई दिइयो ।
यसै गरी उत्कृष्ट नव अभिनेताको अवार्ड चलचित्र गोर्खा वारियरबाट रितेश चाम्सले पाए भने उत्कृष्ट नव अभिनेत्रीको अवार्ड चलचित्र निरफूलबाट शान्ति वाइवालाई दिईयो ।

सो समारोहमा उत्कृष्ट सह अभिनेताको अवार्ड चलचित्र अगस्त्यबाट नाजिर हुसेनलाई, उत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र उपहारबाट पूजा शर्मालाई, उत्कृष्ट खल चरित्रको अवार्ड नांगो गाउँबाट शिशिर वाङदेललाई प्रदान गरियो ।
समारोहमा प्राविधिक विधा तर्फ छायांकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकालले, उत्कृष्ट सम्पादकको अवार्ड चलचित्र ऐँचो पैँचोबाट विपिन मल्ल र भूपेन्द्र अधिकारीले, उत्कृष्ट लेखनको अवार्ड चलचित्र बुलाकीबाट राजबहादुर सानेले, उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड चलचित्र काँडेतारबाट श्री श्रेष्ठले र उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र ऐँचो पैँचोको काले केटाले गीतबाट कविराज गहतराजले हासिल गरे ।

संगीत विधाको डी सिने अवार्ड प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र उपहारको कहिले बार गीतबाट अर्जुन पोखरेलले पाए भने उत्कृष्ट पाश्र्व गायकको अवार्ड चलचित्र बुलाकीको रातले कु¥यो गीतबाट करण परियारले, उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड चलचित्र निरफूलको तिमी बदनामी गीतबाट दुर्गा खरेलले, उत्कृष्ट चलचित्र गीतकारको अवार्ड चलचित्र जारीको रीत गीतबाट हर्क साउदले, उत्कृष्ट ध्वानी मिश्रणको अवार्ड चलचित्र उपहारकै लागि सञ्जय श्रेष्ठ र उत्कृष्ट पाश्र्व संगीतको अवार्ड चलचित्र उपहारकै लागि शाश्वत श्रेष्ठले हासिल गरे ।

समारोहमा अभिनय तर्फको जुरी अवार्ड चलचित्र बुलाकीबाट अभिनेता बिराज विष्टलाई र नृत्य निर्देशक तर्फको जुरी अवार्ड लिगेश भट्टराईलाई प्रदान गरियो । २०८० सालमा रिलिज भएका नेपाली चलचित्रहरूलाई सो समारोहमा १६ औँ डी सिने अवार्ड प्रदान गरिएको आयोजक छायाँछवी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए । २०८१ सालको अवार्ड आगामी असोजमा गर्ने पनि उनले बताए ।

अवार्ड बिजेता सबैलाई बधाई दिँदै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डमा रहेर आफुले घोषणा गरेका ती वटा कामहरु निर्धारित समयमै सकेको बताए ।