ब्युटी न्युज नेपाल
काठमाडौँ, १ जेठ
चलचित्र पत्रकार संघले आफ्नो २५ औँ वार्षिक उत्सव इलामको सूर्योदय नगरपालिकामा मनाउने भएको छ । २५ औँ वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर ७ चैतमा चलचित्र पत्रकार संघले विभिन्न चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गर्ने घोषणा गरेको छ । संघको कार्यालय अनामनगरमा बुधबार दिउँसो बसेको कार्यसमितिको बैठकले सो सम्मान र पुरस्कारको घोषणा गरेको हो ।
संघको निर्णय अनुसार ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२’ चलचित्र पत्रकार धु्रब लम्साललाई प्रदान गरिने भएको छ । यो सम्मानको राशी ५५ हजार ५५५ रुपैयाँ रहेको छ । यसै गरी चलचित्र पत्रकारिता पुरस्कार २०८२ यस पटक पनि दुई जनालाई प्रदान गरिने भएको छ । यो पुरस्कार चलचित्र पत्रकार जीवन पराजुली र चलचित्र पत्रकार वर्षा वस्नेतलाई प्रदान गर्ने निर्णय संघले गरेको संघका उपाध्यक्ष बिजय आवाजले ब्युटी न्युज नेपाललाई जानकारी गराए । यो पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ रहेको छ ।
यसै गरी राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ पत्रकारद्धय बिष्णु प्रसाद सुवेदी र नरेन्द्र बस्नेत (कोशी)लाई प्रदान गरिने निर्णय भएको पनि उपाध्यक्ष आवाजले जानकारी गराए । उनका अनुसार राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार चलचित्र पत्रकार रस्मी थापालाई र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार तुलसी प्रसाद निरौला (कोशी)लाई प्रदान गरिने भएको छ । यी दुबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।