ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ वैशाख
संयुक्त राज्य अमेरिका बस्दै आएकी एक समयकी चर्चित नेपाली अभिनेत्री उषा पौडेल तीन वर्ष देखि एक्दै थिईन् । पहिलो विवाह टुटेपछि उनी पुन विवाहको पक्षमा थिईन् । यस्तै अमेरिकामै रहेका अभिनेता राहुल केसीको पनि गत वर्ष पत्नीसँग सम्बन्ध विच्छेद भएपछि एकल रुपमै थिए । दुबैजना एक्लो भएको अस्थामा अर्का अभिनेता एवम् कलाकार प्रवेश उप्रेतीले यी दुईबीच भेट गराए । प्रवेशले विवाहको लागि दुबैसँग प्रस्ताव आदन प्रदान गरे । सोही क्रममा निर्देशक सुमन दाहाल र गोपाल चन्द्र लामिछानेले पनि उषा र राहुललाई विवाह गरेर बाँकी जिवन सुखद पूर्व विताउन सुझाब दिए ।
प्रवेशको प्रयास अनि सुमन र गोपालचन्द्रको सल्लाहपछि अभिनेता राहुल केसी र अभिनेत्री उषा पौडेल दुई साता अघि नै कानूनी रुपमा अदालती विवाह गरेर दाम्पत्य सम्बन्धमा बाँधिएका थिए । यिनै दुई कलाकारले नेपाली परम्परा अनुसार बाजा बजाएर आईतबार भव्य विवाह गरेका छन् ।
यो विवाह समारोहमा अमेरिकामा रहेका चलचित्र निर्देशकहरु दिनेश कार्की, महेन्द्र बुढाथोकी, बाबुराम ढकाल, गोपालचन्द्र लामिछाने, राजु केसी, गीतकार बाबुराम दाहाल, अभिनेता प्रवेश उप्रेती, अभिनेत्री अरुणिमा लम्साल, नृत्य निर्देशक गोविन्द राईसहित विभिन्न चलचित्रकर्मी एवम् त्यहाँ रहेका नेपालीहरुको उपस्थिति थियो ।
राहुल केसी र उषा पौडेल बिगत एक दशक भन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका यी दुईले दोस्रो पटकको विवाह समारोह पनि नेपाली परम्परा अनुसार सवै विधि पुर्याएर भव्य रुपमा गरेका छन् । उषाले मुनामदन, गोधुली, पाले दाई, तिम्रो माया, प्यारी बहिनी सहित करिब दुई दर्जन चलचित्रमा अभिनय गरेकी छिन भने राहुलले किसान, सडक छापसहित आधा दर्जन चलचित्रमा अभिनय गरेका छन् । दाम्पत्य जीवनमा बाँधिएका यी अभिनेता अभिनेत्री आगामी दिनमा सँगै फेरी कुनै चलचित्रमा नायक नायिकाको रुपमा प्रस्तुत हुने आशा गरौँ । ब्युटी न्युज नेपाल परिवारको तर्फबाट दुबैलाई दाम्पत्य जीवनको शुभकामना ।