ब्युटी न्युज नेपाल/सुमन दाहाल
ल्याग्जिन्टङ (केन्टकी) अमेरिका, २७ बैशाख
अमेरिकामा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापानमा शाखा गठन भएको छ । महासंघको विधान अनुसार जापान शाखा गठन भएको हो । जापानमा रहेर स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन गरिएको छ ।
नेपालमा लामो समय पत्रकारिता गरेर जापान गएपछि पनि त्यहाँ समेत एभिन्यूज टेलिभिजनसँग आबद्ध रहेर पत्रकारिता गरिरहेका एक्स्क्लुसिभ न्यूज टाईम जापानका प्रकाशक तथा सम्पादक उत्तम गौडेलको अध्यक्षतामा जापान शाखा गठन भएको हो ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखाको उपाध्यक्षमा जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी रहेका छन् । यसै गरी जापान शाखाको महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल र कोषाध्यक्षमा एक्स्क्लुसिभ अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन् ।
यस्तै जापान शाखाको सदस्यहरूमा जापान समाचार डटकमका कार्यकारी सम्पादक जगत बहादुर खड्का र हेर्निकुराका पत्रकार लक्ष्मण पाठक चयन भएका छन् । शाखाको अन्य सदस्यहरू चयन गर्दै जाने अध्यक्ष उत्तमले जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले गठन भएसँगै जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको नीति, नियम र विधानअनुसार कार्य गर्न अनुमति दिइएको बताएका छन् । केन्द्रीय अध्यक्ष खनालका अनुसार अन्य देशमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासंघको शाखाहरू विस्तार गर्ने तयारी भइरहेको छ ।
उता अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखाको अध्यक्षको जिम्मेवारी पाएका उत्तम गौडेलले धन्यवाद ज्ञापन गर्दै यो महासंघले आफूहरूलाई जापानमा रहेर पत्रकारितामा अझ ऊर्जा थप्ने बताएका छन् । संस्थाको घोषित कार्य लक्ष्य र विधान अनुसार आफू नेतृत्वको सम्पूर्ण कार्यसमितिले निष्ठा र इमानदारिताका साथ काम गर्ने पनि उनले बताएका छन् ।