चलचित्र जारलाई कर छुट गर्नु पर्ने डा. बाबुरामको भनाई


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ वैशाख

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन चलचित्रहरूको विकासको लागि अमेरिकामा विदेशी चलचित्र प्रदर्शनीमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । उनले अमेरिकी चलचित्रको संरक्षणको लागि त्यहाँ प्रदर्शन हुने विदेशी चलचित्रमाथि १०० प्रतिशत कर लगाउने घोषणाको नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रशंसा गरेका छन् । ट्रम्पको निर्णय साह्रै राम्रो भएको उनले बताएका छन् ।

मँगलबार साँझ ललितपुरको लविम मलमा आयोजना गरिएको नेपाली चलचित्र जारको प्रिमियर सोमा सो चलचित्र हेरेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्रम्पको विदेशी चलचित्र प्रदर्शनको नीतिको प्रशंसा गरेका हुन् । उनले नेपालमा नेपाली चलचित्रलाई माथि पनि उठाउन यहाँ प्रदर्शन हुने विदेशी चलचित्रलाई पनि महँगो कर लगाउनु पर्ने सुझाव दिएका छन् । उनले नेपालमा निर्माण हुने मौलिक चलचित्रलाई राज्यले कर छुट गर्नु पर्ने पनि बताएका छन् ।

इन्द्रबहादुर राईको कथामा बनेको २०० वर्ष पुरानो परिवेशको चलचित्र जार पूर्ण मौलिक चलचित्र बनेको पनि उनले बताए । त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न पनि अहिलेको पुस्ताले यो चलचित्र हेर्नु पर्ने सुझाव उनले दिए । यो चलचित्रलाई राज्यले कर छुट गर्नु पर्ने पनि उनले बताए । आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द आएको पनि डा. भट्टराईले सञ्चारकर्मीलाई बताए । डा. भट्टराईले यो चलचित्रकी गायिका एवम् संगीतकार झुमा लिम्बुको गीत संगीतको पनि खुलेर प्रशंसा गरे ।

नेतृ हिसिला यामीले चलचित्र जार अहिलेको समसामयिक सन्दर्भको सशक्त चलचित्र भएको बताइन् । अहिले आर्थिक राजनीतिक समस्या नै नेपाली युवा युवतीको घाँटीमा जार बनेर झुन्डिएको उनले बताईन् । अहिले हजारौँ युुवतिहरु एयरपोर्टबाट विदेशतिर लखेटिने गरेको पनि उनले बताइन् । अहिलेका सरकारमा रहेकाहरूले यो चलचित्र हेरेर केही कुरा सिक्न पनि उनले सल्लाह दिइन् ।

यस्तै ललितपुरका सांसद उदय शमशेर जबराले चलचित्र जार आफूलाई एकदम फरक र पूर्ण मौलिक चलचित्र लागेको बताए । राम्रो काम गरेकोमा जारको टिमलाई बधाई दिँदै राम्रो चलचित्र निर्माणको उदाहरण जार भएको उनले बताए । यो चलचित्रले सामाजिक सन्देश दिएको पनि उनले बताए । उनले यो चलचित्र हेर्न पनि दर्शकलाई आग्रह गरे ।

यही शुक्रवार २६ वैशाखबाट नेपाल तथा भारतमा रिलिज हुने चलचित्र जार पूर्ण मौलिक चलचित्र बनेको छ । फुर्वाछिरिङ लामाको निर्देशन तथा सौगात मल्ल, अनुप विक्रम शाही, गीताञ्जली थापाको मुख्य भूमिका रहेको चलचित्र जार इन्द्रबहादुर राईले लेखेको २०० वर्ष पुरानो कथामा बनेको चलचित्र हो । प्रिमियरमा यो चलचित्र हेरेका चलचित्रकर्मी तथा अन्य क्षेत्रका अतिथिहरूले यसलाई सार्थक चलचित्रको उपमा दिए ।