अभिनेता राज वल्लभको कविता संग्रह औरा लोकार्पित


ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

स्कुले जीवन देखि नै कविता लेख्न खप्पिस अभिनेता अभिनेता राज वल्लभ कोइरालाले अन्ततः आफ्ना कविताहरूलाई संगालोको रूपमा पाठकमाझ ल्याएका छन् । आफ्नो नयाँ चलचित्र एक्टर : टेक वानको प्रिमियरसँगै रिलिज प्रमोसनका लागि अमेरिकाबाट नेपाल आएका यी कवि अभिनेताले आफ्नो पहिलो कविता संग्रह ‘औरा’ काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरेका छन् ।

राज वल्लभको यो कविता कृतिको काठमाडौँमा एक समारोहबिच अभिनेत्री एवम् चलचित्र निर्देशक दीपाश्री निरौला, कवि विप्लव प्रतीक, सञ्चारकर्मीद्धय दिल भूषण पाठक र अश्विनी कोइरालाले संयुक्त रूपमा लोकार्पण गरेका छन् ।

कविता संग्रहमा १ सय ११ वटा कविता प्रकाशन गरिएको छ । अभिनेता राज वल्लभले यो कविता संग्रह आफ्नो छोरी औराको नाममा समर्पण गर्दै पाठक माझ ल्याएको कार्यक्रममा बताए । लोकार्पण समारोहमा गितारको धुनका साथ अग्र पंक्तिमा बसेर राज वल्लभले आफ्ना केही कविता पनि वाचन गरे । जव उनले छोरीका लागि र आफ्नी आमाको लागि भन्दै कविता वाचन गरे । त्यति बेला अतिथिहरूको आँखामा आँसु छल्किएको देखियो । त्यो दृश्यलाई मनन गर्दै सामान्य बन्ने क्रममा कवि राज वल्लभले उमेरले डाँडा उक्लिएपछि मानिस केही भावुक हुने रहेछ भन्दै ठट्यौली पारामा आफूले गर्भबाट नै कविता लेख्न थालेको स्मरण सुनाए ।

राज वल्लभले कविता भन्न लायक संग्रह तयार गरेको कवि विप्लव प्रतिकले कार्यक्रममा बताए । उनले आगामी दिनमा अभिनय यात्रा सँगै कविता लेखनको यात्रा नरोक्न राज वल्लभलाई सुझाव दिए । कार्यक्रममा दिल भूषण पाठक र अश्विनी कोइरालाले पनि उनको कविता कृति र सृजनाको खुलेर प्रशंसा गरे ।