ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ
यस अघि गत ४ माघमा नेपालका चलचित्र घरमा रिलिज भएको नेपाली चलचित्र एक्टरको निर्माण पक्षले यस्तै नाम भएको अर्को चलचित्र ‘एक्टर : टेक वान’लाई यो चलचित्रको प्रदर्शन तत्कालै रोक्न र नाम परिवर्तन गर्नको लागि माग सहित काठमाडौँ जिल्ला अदालतमा आइतबार दिउँसो मुद्दा दर्ता गराएको छ । चलचित्र एक्टरका कथाकार, संगीतकार तथा प्रस्तुत कर्ता सम्राट् थापाले आगामी १६ माघमा प्रदर्शनमा आउने एक्टर : टेक वान बिरुद्ध मुद्दा दायर गरेका हुन् ।
आफ्नो चलचित्र एक्टरको नामको पछाडि केही शब्द सानो अक्षरमा थपेर चलचित्र प्रदर्शन गर्न लागिएको जिकिर सो उजुरी पत्रमा गरिएको छ । चलचित्र एक्टरका प्रस्तोता कम्पनीका तर्फबाट अख्तियार प्राप्त सम्राट् थापाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि सो मुद्दाको सुनवाइ आइतबार नै भएको छ । सो सुनुवाइ अनुसार आगामी १५ माघमा दुवै पक्षलाई राखेर अदालतले बहस पैरवी गर्ने आदेश अदालतले दिएको छ । चलचित्र एक्टर टेक वानको सोमबार भक्तपुरमा प्रिमियर शो पनि गरिँदै छ । अब यो चलचित्र १६ माघबाट हलमा लगाउने नलगाउने भन्ने विषयमा १५ माघको बहस केन्द्रित हुने भएको छ ।
चलचित्र एक्टरलाई मदन घिमिरेले निर्देशन तथा मनोहरि थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रिन्स थापामगर, शिवानी गिरी, कसिस दाहाल, कृष्ण मल्ल, सरोज खनाललगायतको मुख्य भूमिका छ । यस्तै चलचित्र एक्टर : टेक वानलाई राजन भुसालले निर्देशन गरेका हुन भने थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्य रायमाझी, राज बल्ल्भ कोईरालालगायतको शिर्ष भूमिका रहेको छ ।