सञ्चारकर्मी तथा गीतकार गीताको मेरा कलमका डोबहरू विमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ माघ

सञ्चार कर्म र गीत लेखनमा सक्रिय गीता अधिकारीले आफूद्वारा विभिन्न समयमा लिखित एवम् प्रकाशित लेखहरूको सँगालोको रूपमा नयाँ पुस्तक ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याएकी छिन् । आज काठमाडौँमा एक समारोहबिच गीतको जन्मदिन पारेर उनको पुस्तकलाई अग्रज अभिनेत्री भुवन चन्द र चैत्यदेवी सिंहलगायतले बिमोचन गरे ।

यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी गीताको मेरा कलमका डोबहरू दोस्रो पुस्तक हो ।

कलाकार उत्तम केसीको सभापतित्वमा आयोजित कार्यक्रममा कलाकार लय संग्रौला, नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रंग पत्रकार शान्तिप्रिय, गीतकार अमर वान्तुलगायतले गीतालाई नयाँ पुस्तकको लागि शुभकामनासहित उनको लेखनको चर्चा गरे ।

कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बत्ताइन् । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको बताए । पुस्तकमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने विश्वास उनले व्यक्त गरे । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।

गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्म छम्म’ जस्ता एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशल पूर्वक सम्पादन गर्नुभएकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो ।