ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुस
लामो समयदेखि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि रहेको छ । गृहमन्त्री रमेश लेखकले अब यो समस्या छिट्टै समाधान हुने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’ मन्त्री लेखकले भने ।
त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका थिए । भेटमा गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष डा केसीले ध्यानाकर्षण गराए । जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताए । उनले भने, ‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईहरु आफैँ आफ्नो देशमा लगानी गछौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ ।’
सो अवसरमा अध्यक्ष डा केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखले भने, ‘यस सम्बन्धमा छलफल भइरहेको छ । गैरआवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानून मन्त्रालयले गृहकार्य नै थालेको छ । सरकार यसमा सकारात्मक छ ।’
सो अवसरमा संघका अध्यक्ष डा. बद्री केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना,सल्लाहकार गोविन्द प्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल(दक्षिण कोरिया) प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायत सहभागी थिए ।