ब्युटी न्युज नेपाल
काठमाडौं, १६ पुस
रिलिजको भिति नजिकिँदै गर्दा चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । अँग्रेजी नयाँ वर्षको अबसर पारेर यो चलचित्रको ट्रेलर आज रिलिज गरिएको हो ।
यो चलचित्र यही २६ पुसबाट नेपालमा रिलिज हुने भएको छ । यो चलचित्रको ट्रेलरमा अभिनेता दयाहाङ राईले झाँक्रीदेखि ग्रामिण क्षेत्रमा काम गरेर जीवन गुजारा गरिरहेका विपन्न पात्रको रुपमा प्रस्तुत गरिएको छ ।
सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ । त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ ।रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ । अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।