ब्युटी न्युज नेपाल
काठमाडौं, १७ कात्तिक
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जयन्तीका विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ । यसै अवसरमा शुक्रबार काठमाडौँमा साहित्यकार गीता खत्री, त्रिमूर्ति निकेतनका संस्थापक अध्यक्ष इन्दिरा प्रसाई तथा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीलगायतले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरेर देवकोटा जयन्ती मनाए । त्यस अवसरमा उनीहरुले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गरे ।
सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा प्रमुख कवि कृष्ण बाउसे लगायत कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे ।
रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने भनाई राखे ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।