ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज
दशैंको विदामा समेत मिडियाको नियमनलाई प्रेस काउन्सिल नेपालले निरन्तर दिने जनाएको छ । एक विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाई गर्ने जनाएको हो । सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले सो जानकारी गराएका हुन् ।
काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले बडा दशैँ, तिहार, छठलगायतका राष्ट्रिय पर्वहरु र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चाकर्मी, आम पत्रकार, सबै नागरिकप्रति शुभकामना समेत प्रदान गरेको छ ।
काउन्सिलले चाडपर्वहरुले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम भूमिका हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।
चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतङ्कलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले विदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको बताए ।