सुदन र सरोजको सांगीतिक ‘यादहरु’


 

काठमाडौं, १४ फागुन

 

संगीतकार सरोज प्याकुरेल र गीतकार सुदन डोटेलले एक संगीत शब्दमा गीतिसंग्रह ‘यादहरु’ स्रोतामाझ ल्याएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटा, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गायकद्वय रामकृष्ण ढकाल, आनन्द कार्कीसहितले राजधानीमा एक समारोहबीच आईतबार यो गीतिसंग्रहको बिमोचन गरे । सँग्रहमा विभिन्न गायक–गायिकाको स्वरका पाँच ओटा गीतहरु समावेश छन् ।

 

 

लोकार्पण समारोहमा बोल्दै उपकुलपति बासकोटाले गीतकार डोटेलका शब्दहरुको प्रसंसा गर्दै उनका गीतहरु स्तरीय रहेको बताए । बासकोटाले संगीतकार प्याकुरेलमा सांगीतिक क्षमता रहेको जिकिर गर्दै प्याकुरेलको सांगीतिक भविष्यको कामना समेत गरे ।

 

संगीतकार सुरेश अधिकारीले गायकको रुपमा करियर प्रारम्भ गर्न चाहेका सरोज प्याकुरेल आफ्नै सुझाव अनुसार संगीतकार बन्न सफल भएकोमा खुशी लागेको भनाई सो कार्यक्रममा राखे ।

 

‘यादहरु’ आफ्नो पहिलो एकल गीतसंग्रह भएको गीतकार डोटेलले बताए । संगीतकार प्याकुरेलले पनि आफ्नो एकल संगीतको पहिलो सँग्रह भएको बताए । समारोहमा संगीतकार प्याकुरेल तथा गीतकार डोटेलले गीति एल्बम तयार पार्ने क्रममा भोगेका तीता–मीठा क्षणहरुको बारेमा रमाइला प्रसंगहरु प्रस्तुत गरेका थिए ।

 

समारोहमा गायक आनन्द कार्कीले संग्रहमा समावेश ‘कहिले तिमी याद…’ शीर्षकको गीत प्रत्यक्ष सुनाएका थिए ।

 

संगीतकार प्याकुरेलकै निर्देशनमा तयार भएको ‘म भन्दा माथि मेरो देश छ…’ गीतको भिडियो पनि शो क्रममा प्रिमियर गरियो । यो राष्ट्रिय गीतमा गायक रामकृष्ण ढकालको स्वर समावेश छ । यो सँग्रहका गीतहरुमा रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, हेमन्त शर्मा तथा रीता केसीका स्वर छ ।