राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा दर्शकको भिड


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ जेठ

गणतन्त्र दिवसको अवसर पारेर ‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भावमा सहित काठमाडौंको ललितकला प्रज्ञा प्रतिष्ठानमा यतिबेला राष्ट्रिय कला प्रदर्शन जारी छ । सो ललितकला प्रदर्शनी २०८१ मा दर्शकको भिड बढिरहेको छ ।

प्रदर्शनीमा ४८२ कलाकारका करिब ६०० कलाकृति राखिएको छ । प्रदर्शनीमा नेपालमा प्रचलित लोककला, हस्तकला–शिल्पकला, परम्परागत चित्र÷मूर्तिकला, समसामयिक चित्रकला तथा मूर्तिकला, वास्तुकला, अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कला फोटोग्राफी, भिडियो आर्ट, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभङ्गिमा कलालगायतका कला राखिएको छ । प्रतिष्ठानले देशका सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ गरेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । उनले नेपाली ललितकलाको सुगन्धको झल्को प्रदर्शनीमा देखिएको सुनाए । उनले भने, ‘नेपाली कलालाई स्थानीय स्तरबाट केन्द्र हुँदै अन्तर्राष्ट्रियकरण गर्न यो प्रदर्शनीले मार्ग तय गरेको छ । यसलाई अझ जनस्तरसम्म लगेर नेपाली समाजमा विकसित कलालाई सामाजिकीकरण गर्दै अर्थतन्त्रमा समेत जोड्नुपर्दछ ।’ कुलपति हार्तम्छालीले प्रदर्शनीले नेपाली समाजमा प्रचलित विविध कलाको रैथाने स्वादलाई समेत पस्केको जिकिर गरे ।

प्रदर्शनीमा सात प्रदेशका विविध कलाका आयाम र विधा समेटिएको प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले बताए । उनले सामाजिक रूपान्तरण ः ललितकलाको अभियान भन्ने भावमा रहेर प्रतिष्ठानले नेपालीपनको बोधलाई उठान गरेको जिकिर गर्दै लोपोन्मुख रैथाने कलालाई अगाडि बढाउने गरी काम गरिरहेको सुनाए । उनले नेपाली समाजलाई राष्ट्रिय आवश्यकता र गणतान्त्रिक संस्कृति निर्माणमा ललितकलामार्फत योगदान दिने उद्देश्यसमेत प्रदर्शनीको रहेको विचार व्यक्त गरे । उपकुलपति लामाले भने, ‘नेपाली कला विविध कारणले लोपोन्मुख र हराउनेक्रममा रहेकाले तिनको पहिचान गरी कलाकारलाई समेत जागृत गराई सामाजिक रूपान्तरणको अभियानमा जोड्दै पुनर्जागरण गर्ने ध्येय प्रतिष्ठानले राखेको छ । यस अभियानमा कलाकारको उत्साहजनक सहभागिता र चासो रहेको पाएका छौँ ।’

प्रतिष्ठानले यस वर्षदेखि प्रादेशिक प्रदर्शनीको थालनी गरी नेपाली ललितकलालाई पुनर्जागरणको चरणमा लगेको सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिए । उनले नेपाली समाजमा विकास भएका विविध शैली, चिन्तन र आयामका कलाको पहिचान गरी कलाकारको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको बताए । उनले भने, ‘प्रदर्शनीमा सात प्रदेशको कलाको अवस्था र परिवेशलाई बुझ्न सकिन्छ । यो प्रदर्शनीमार्फत प्रतिष्ठानले प्रारम्भ गरेको पहिचान, पहुँच र पहलको माध्यमबाट नेपाली कलामा आगामी वर्ष अझ व्यवस्थित गरिने छ । साथै समाज रूपान्तरणको अभियानमा कलाकारलाई सहभागी गराई राष्ट्रिय आवश्यकतामा जोड्नु पनि रहेको छ ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली समाजलाई युगबोधी चेतना जागृत गर्ने ध्येयका साथ आफूहरूले काम गरिरहेको विचार व्यक्त गरे । उनले अहिलेको युगको बोध कलामार्फत गराउने लक्ष्यका साथ प्रतिष्ठानले गतिविधि गरिरहेको र त्यसको एक कडीका रूपमा प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनी रहेको जिकिर गरे ।

उनले प्रदर्शनीमार्फत जनस्तरसम्म पुगेर नेपाली समाजमा विद्यमान कला र तिनको महŒवलाई उजागर गर्नु रहेको बताए । समाज रूपान्तरणमा ललितकलाको पनि योगदान विशिष्ट ढङ्गले चित्रित हुनुपर्छ भन्ने भावका साथ प्रदर्शनी गरिएको र यो प्रारम्भिक चरणमा रहेकाले त्यसतर्फ अगाडि बढ्ने मार्ग बनिरहेको सुनाए ।

जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा ललितकला क्षेत्रका सरोकारीका साथै देशका राजनीतिक, कूटनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, कानुनी क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूले व्यक्तिगत तथा संस्थागततर्फबाट प्रदर्शनीको अवलोकन गरेको जानकारी सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । साथै थुम्केलीले प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको र त्यसले आगामी नेपाली ललितकला क्षेत्रमा नयाँ मोड ल्याउने जिकिरसमेत गरे ।

प्रतिष्ठानका कुलपति हार्तम्छालीले दूरदराजमा रहेका नेपाली ललितकलालाई उजागर गर्नका लागि र ललितकलाकर्मीलाई उत्साह, हौसला जागृत गर्नका लागि पुरस्कारमा विशेष परिवर्तन गरिएको बताए । उनका अनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय, विधागत रुपमा राष्ट्रिय, प्रादेशिक उत्कृष्ट, विधागत प्रादेशिक एवं विद्यार्थी विधामा पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ का कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रदर्शनीमा शुक्रबारसम्म करिब २० हजार व्यक्तिले अवलोकन गरिसकेको र अवलोकन गर्नेको सङ्ख्या बढ्दो रहेको सुनाए ।