चलचित्र गाउँ आएको बाटोलाई प्रिमियरमा सुखद प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठाडौं, २४ जेठ

चलचित्र गाउँ आएको बाटो भोली शुक्रबारबाट देशव्यापी प्रदर्शन हुँदैछ । यो चलचित्र विश्वका दर्जन भन्दा बढी अन्तराष्ट्रिय चलचित्र महोत्सबपछि नेपालमा रिलिज हुँदैछ । चलचित्र सिनेमा गाउँ आएको बाटो बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा पत्रकारले यो चलचित्र हेरे ।

चलचित्र हेरेपछि अधिकांशले नवीन सुब्बा निर्देशित सिनेमा गाउँ आएको बाटोले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् ।

पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किँरातीले आफु यही समुदायमा जन्मे हुर्केकाले पनि सिनेमाले छोएको बताए । नेपालमा यस्ता सिनेमा बन्न जरुरी भएको र विशेषगरी नवीन सुब्बा जस्ता निर्देशकले त आगामी दिनमा यस्ता विषयमा अझै धेरै सिनेमा निर्माण गर्न जरुरी रहेको बताए । एमाले सांसद रघुजी पन्तले सिनेमा निकै राम्रो बनेको र यस्ता सिनेमाले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए ।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको सिनेमा हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए । अभिनेत्री केकी अधिकारीले गाउँ आएको बाटो दयाहाङ दाईको करियरकै उत्कृष्ट सिनेमा भएको बताइन् । यता दयाहाङसँग डिग्री माइलामा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाई डिग्री माइलाको भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन् ।

 

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेर्दा निकै मज्जा आएको बताइन् । एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन् । सिनेमाकी मुख्य अभिनेत्री पशुपति राईले पनि म आफ्नो सिनेमा हेरेर आफै रोएको बताइन् । सिनेमालाई नेपाली दर्शलले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रबारबाट नेपालबाट रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् ।

पूर्व मिसनेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सिनेमाले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन् । यस्तै अर्की अभिनेत्री दीया मास्केले सिनेमा हेरेर निस्कँदा पनि गुजबम्ब आएको र बोल्नै नसक्ने अवस्थामा रहेको बताइन् । सिनेमाको कथावस्तु र कलाकारकारको कामले आफुलाई निकै छोएको उनको भनाई थियो ।

अभिनेता नाजिर हुसेनले गाउँ आएको बाटोमा दया दाईले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने एकदमै पाको बाँस भएको बताए । अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुुस गर्न पाएको बताइन् । अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफु गाउँमा नबसेको भएपनि अहिलेसम्म आइपुग्दा कामको माध्यमबाट विभिन्न ठाउँमा पुग्दाको अवस्थालाई सिनेमा हेरेर महसुस गरेको बताइन् ।

तस्बीर : बद्री थापा/ब्युटी न्युज नेपाल