प्रिमियरमा रुचाईयो पेरिस टु लन्डन, आजबाट देशब्यापी रिलिज


ब्युटी न्युज नेपाल
काठाडौं, २५ जेठ

चलचित्र लन्डन टु पेरिस आज शुक्रबारबाट देशव्यापी रिलिज भएको छ । बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि सिनेमाकर्मीले सिनेमाको कथावस्तु मनपराएको प्रतिक्रिया दिएका छन् ।

यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का, गरिमा शर्मा, मनिष श्रेष्ठसहितको मुख्य भूमिका छ । चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

चलचित्रको प्रिमियर समारोहमा बोल्दै निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई सिनेमामा आफूले भनेको बताए । उनले सिनेमा विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए । यो सिनेमाबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए । ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ । फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने ।

सिनेमाका अर्का अभिनेता कवीर खड्काले आफूले कलाकार भन्दा पनि दर्शकका रुपमा सिनेमा हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।

सिनेमाकी ‘डेब्यू’ अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु’, उनले भने ।

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

 

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह(निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली सिनेमा बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा सिनेमाले देखाएको छ’, उनले भने, ‘मलाई सिनेमा राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली सिनेमा चल्न सकेका छैनन् । तर यो सिनेमाले राम्रो चल्ने सम्भावना देखाएको छ ।’

सिनेमाका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि सिनेमा राम्रो बनेको बताए । ‘सिनेमा हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो सिनेमा विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।

तस्बीर : बद्री थापा/ब्युटी न्युज नेपाल