यसकारण गोपिकृष्ण नेशनल फिल्म अवार्डको रुपमा फेरियो एनएफडिसी अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

गोपीकृष्ण कामाख्या मिडिया कम्पनी प्रा लिले व्यवस्थापनमा गोपिकृष्ण नेशलन फिल्म अवार्ड काठमाडौंमा आयोजना हुने भएको छ । यो अवार्ड आउँदो शनिबार दिउँसो काठमाडौंमा हुने आयोजक गोपिकृष्ण मूभिजले विज्ञप्ति मार्फत जनाएको छ ।

आयोजकका अनुसार २०८० सालमा प्रदर्शनी भएर अवार्डमा सहभागी चलचित्र मध्येबाट छनोटमा परेका २३ प्रतिस्पर्धात्मक विधामा यो अवार्ड प्रदान गरिने छ । समारोहमा दिर्घ साधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कार सहित २५ विधामा पुरस्कृत तथा सम्मान गरिने पनि गोपीकृष्ण मुभिजले जनाएको छ । २५ विधामध्य २१ वटा विधाको मनोनयन सूची समेत बुधबार आयोजक पक्षले सार्वजनिक गरिसकेको छ । तर यो अवार्डको प्रकृति हेर्दा बिगतको एनएफडिसी नेशनल फिल्म अवार्ड भन्दा फरक छैन । एनएफडिसीको ठाउँमा गोपिकृष्ण नाम राखेर यो अवार्ड आयोजना गर्न लागेको देखिन्छ ।

एक दशक अघि नेपालमा चलचित्र सम्बन्धि एउटा गतिलो अवार्ड सुरु भएको थियो । जसको नाम एनएफडिसी नेशलन फिल्म अवार्ड राखिएको थियो । यो अवार्ड लगातार ६ वर्षसम्म आयोजना भयो । नेपाल चलचित्र विकाश कम्पनीले आयोजना गर्दै आएको यो अवार्ड नेपालमा कोभिड आएसँग २०७७ बाट बन्न भयो । नेपालका अग्रज सिनेकर्मीको नाम जोडर विभिन्न विधामा स्थापना गरिएको यो अवार्ड पाउनेहरुलाई सुरु सुरुमा जनही ५० हजार रुपैयाँसम्म नगद राशी पनि दिईयो । पछि बिना नगद पुरस्कार अवार्ड प्रदान गर्न थालिएको यो अवार्ड नेपालमा कोभिड आएसँग बन्द भयो ।

यही अवार्ड अब गोपिकृष्ण नेशलन फिल्म अवार्डको रुपमा आयोजना हुने भएको छ । आगामी शनिबार काठमाडौंमा यो अवार्ड गरिने आयोजक पक्षले एक बिज्ञप्ति मार्फत जनाएको छ ।

एनएफडिसी नेशलन फिल्म अवार्ड आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र विकाश कम्पनी (एनएफडिसी) यतिबेला करिब करिब मृत अबस्थामा छ । गोपिकृष्ण मूभिजका साञ्चालकको ५१ प्रतिसत र बाँकी पब्लिकको ४९ प्रतिसत शेयर रहेको एनएफडिसी निरन्तर घाटाका कारण अवार्ड गर्न सक्ने अबस्थामा छैन ।

हुन त यतिबेला गोपिकृष्ण हल बन्द छ । गोपिकृष्ण टिभी फिल्मी पनि बन्द भएर नारी टिभीको रुपमा सञ्चालन भइरहेको छ । गोपिकृष्ण एफएम पनि अहिले ग्यालेक्सी एफएमको रुपमा गीत मात्र बजाउने एफएम भनेर चिनिने गरेको छ ।

यस्तो अबस्थामा पनि गोपिकृष्णको महत्व जोगाउन गोपिकृष्ण मूभिजले यो अवार्ड आयोजना गर्न लागेको छ । यो अवार्डले गोपिकृष्ण मूभिज अझै चलचित्र क्षेत्रमा सक्रिय छ भन्ने सन्देश पक्कै दिनेछ । यो अवार्डले एनएफडिसी अवार्डको साख राख्ने आशा गरौं ।