कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया पक्राउ


व्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

दुई वटा नागरिकता लिएको भन्ने आरोपमा उजुरी परेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट मँगलबार अपरान्ह पक्राउ गरेको छ ।

उनलाई पक्राउपछि धनुषा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको नेतृत्वमा प्रहरी टोली मँगलबार अपरान्ह कान्तिपुर कार्यालय पुगेको थियो ।

१६ वैशाख २०८१ मा सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दिएका थिए । उनको जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरेको आरोप लगाईएको छ । सिरोहियालाई नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

सहकारी प्रकरणमा कान्तिपुरले केही समयदेखि गृहमन्त्री रवि लामिछाने बिरुद्ध समाचार लेख्दै आएको र सोही रिसइवी स्वरुप आफुलाई गृहमन्त्री लामिछानेको योजना अनुरुप गलत आरोप लगाएर पक्राउ गरिएको कान्तिपुरका अध्यक्ष सिरोहियाले बताएका छन् ।

सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् । सिरोहियालाई पक्राउ गरेकोमा मिडिया अलान्स ग्रुपले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।