यस्तो दुःख सहेर सफल व्युटिसियन बनिन सिर्जना


काठमाडौं, १० फागुन

आठ कक्षामा पढ्दै गरेकी खोटाङकी एउटी किशोरी । त्यही समय उदयपुरमा उनको फुपुको निधन भयो । फुपाजु सेनामा जागिरे थिए । गाउँमा माओबादी जनसेनाको बिगबिगी भएकाले जागिर छाडेर घर आएर बस्न पनि फुपाजुलाई असुरक्षा । यस्तो अबस्थामा फुपुका दुई नावालकलाई तिनै आठ कक्षा पढ्दै गरेकी १४ वर्षीया किशोरीले काख लिनु पर्ने हुन्छ ।

 

यो अबस्थामा ती नावालकलाई आमाको मायाँको खाँचो थियो । त्यसैले आमाको मायाँ दिन परिवार र आफन्तले ती किशोरीको विवाह उनकै फुपाजुसँग तय गरिदिए । ती किशोरीले १५ वर्ष टेक्न लाग्दा आफु भन्दा धेरै उमेरको फुपाजुसँग १० माघ २०६२ मा विवाह गर्नु पर्यो । तर दुभाग्य । विवाह भएको १० औं दिनमा युद्धको मुडभेडमा उनले श्रीमान गुमाउनु पर्यो ।

धेरैलाई लाग्न सक्छ । त्यसपछि ती किशोरीले अर्को विवाह गरिन् । उदयपुर गाईघाट (बगाहा) की सिर्जना पौडलको जीवन गाथा हो यो । तर उनले त्यसो गरिनन् । ती नाबालकलाई उनले हुर्काईन् । आफुसँगै नावालकलाई पनि स्कुल लगिन् । आफुले ती बच्चा सम्हाल्दै स्कुल अनि प्लस टु पनि उतिर्न गरिन् । ती बालबालिकालाई पनि पढाउँदै गईन् ।

 

दिवँगत सैनिकका एकल श्रीमतीका लागि यसै बीच सैनिक श्रीमती संघले काठमाडौंमा व्युटिसियन तालिम खोल्यो । सो तालिमका लागि उदयपुरबाट सिर्जना पौडेल चयन भईन् । तालिमको लागि उनलाई घरबाट आउन नदिएपछि बिद्रोह नै गर्नु पर्यो । यहीँबाट उनले व्युटिसियन बन्ने अठोट लिईन् ।

आफु र आफुले जिम्मा पाएका ती दुई सन्तानको भविष्यको लागि उनले पैसा कमाउनु थियो । त्यसैले सिर्जना काठमाडौं आईन् । ललितपुरको साईसा पार्लरबाट उनले व्युटी पार्लर सम्बन्धि तालिम लिईन् । ६ महिनाको तालिम यहाँ सकेर फेरी इटहरीबाट थप केही समयको तालिम लिईन् । यसले उनमा व्युटी पेशालाई अँगाल्ने आत्मविश्वास बढ्यो ।

मान्यताप्राप्त व्युटिसियन बन्नकै लागि लिइने सि.टि.ई.भि.टी.को परीक्षा मध्यको लेवल १ उतिर्ण गरेपछि उनी गाउँ फर्किईन् । आफ्नो बगाहामा गाउँमा व्युटिर्पालर खोलिन् । एउटी एकल महिला (विधुवा)ले गाउँमा व्युटी पार्लर खोल्दा परिवार देखि छरछिमेकसम्मले विरोध गरे । तर पनि सिर्जनाले हिम्मत हारिनन् । पर्लर चलाउँदै गईन् । केही समयपछि तिनै बिरोधीहरु बिस्तारै पार्लरमा आउन थाले ।

 


गाउँमा श्रृजु व्युटी पार्लर सफल भएपछि उनले बहिनीलाई तालिम दिएर सो पार्लरको जिम्मेवारी सुम्पिईन् । अनि गाउँबाट केही पर त्रियुगा नगरपालिका ११ गाईघाट पिपलचौक नजिक उनले सुविधा सम्पन्न ‘श्रृजु व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ खोलिन् ।

 

सिर्जनाको भनाईमा पाँच वर्ष अघि स्थापना गरेको गाईघाटको यो पार्लर अहिले सो बजारकै सबै भन्दा सुविधा सम्पन्न, आधुनिक र बढी चल्ले पार्लरको रुपमा लोकप्रिय छ । एक दशक अघिको त्यो दुःख र हण्डर खेपेकी सिर्जना आज गाईघाटमा सफल सौन्दर्य व्यबसायी र त्यहाँको सामाजिक अभियान्ताको रुपमा स्थापित हुन पाउँदा खुसी छिन् ।

करिब १० लाखको लगानीबाट सुरु गरेको गाईघाटको पार्लरले अहिले मासिक तीन देखि पाँच लाखको व्यापार गर्छ । पार्लरको आम्दानीले खुसी छु भन्छिन् सिर्जना । हिजो आर्थिक सँकटमा गुज्रिएकी उनी आज सो क्षेत्रमा राम्रो कमाउने व्युटिसियनको रुपमा परिचित छिन् । उनलाई हेर्ने समाजको नजर परिवर्तन भएकोमा सिर्जना यो पेशाबाट सन्तुष्ट छिन् ।

उनले एकल महिलालाई लक्षित गरेर एनजिओ मार्फत व्युटिसियन सम्बन्धि तालिम पनि दिँदै आएकी छिन् । आफुले गाईघाट, बेल्टार, कटारी सहित खोटाङसम्म एक सय भन्दा बढी युवती तथा महिलालाई व्युटिसियन तालिम दिएर यो व्यबसायमा ल्याउन सकेको उनले बताईन् । यस बारे सिर्जनाले भनिन्,‘हिजोका दिनमा बेरोजगार चेलीबेटीहरु सिप सिकेर आज घरमै बसी बसी आफ्नो आम्दानीले परिवारको खर्च चलाउन सफल भएको देख्दा मलाई खुसी लागेको छ । हिजो आफ्नी बुहारीलाई पाउडर दल्ने तालिम लिनु पर्दैन भनेर गाली गर्ने सासुहरुले आज बुहारीहरुको काम र कमाईको प्रसँसा गरेको सुन्दा मैले राम्रै काम गरें ठानेकी छु ।’

गाईघाट, बेल्टारका आसपासका महिलालाई सिर्जनाले व्युटी पार्लर सम्बन्धि तालिम दिएपछि अहिले त्यहाँका गाउँ गाउँमा व्युटी पार्लर खुलेका छन् । गाउँका महिलाहरु पनि सौन्दर्यप्रति सचेत भएकोमा आफुले त्यतीबेला व्युटिसियन बन्न गरेको सँघर्ष सफल हुँदै गएको महसुस गरेकी छु भन्छिन उनी ।

 

सिर्जना जब सानो थिईन् । त्यत्तिबेला गाउँमा बेहुली सिँगारेको देख्दा आफुले पनि यसरी अरुलाई राम्री बनाउन पाए हुन्थ्यो झैं लाग्थ्यो । त्यतिबेला देखि नै व्युटिसियन बन्ने उनको चाहना अहिले पुरा भएको छ । उन अब व्युटिसियन पेसाबाट समाजलाई रुपान्तरण गर्न चाहन्छिन् । गाईघाट र उदयपुर जिल्ला मात्र हैन, आसपासका धेरै जिल्लाका बासिन्दालाई यो पेशामा ल्याएर धेरै भन्दा धेरैलाई स्वास्थ्य र सुन्दर बनाउने योजना व्युटिसियन सिर्जनाको छ ।