फर्की फर्कीको पहिलो ट्रेलर रिलिज, अनमोल भगवानको रुपमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

अभिनेता अनमोल केसीले आफ्नो १० वर्षको चलचित्र यात्रामो १० औं चलचित्रको रुपमा ’फर्की फर्की’मा अभिनय गरेका छन् । यो चलचित्र आगामी १० जेठमा बुद्ध जयन्तीको अबसरमा रिलिज हुने भएको छ । उनको यो चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनिले पहिलो ट्रेलर सार्वजनिक गरेको छ ।

अनमोलको भनाईमा पहिलो पटक फ्यान्टासी जनरामा यो नेपाली चलचित्र निर्माण गरिएको छ । जसमा अनमोलको चरित्रले ‘समय यात्रा’को बरदान पाएको छ । यो कुरा चलचित्रको ट्रेलरमा पनि उल्लेख छ । तीन मिनट २६ सेकेन्डको यो ट्रेलरमा आफ्नो बिगतका गल्तीलाई सुधार्ने र आउँदो समयका सम्भावित कुराहरु जानकारी पाएर फाईदा लिने अनमोल (म्याडी) क्यारेक्टरलाई भगवानको रुपमा प्रस्तुत गरिएको छ । लभस्टोरी जनरामा सर्वाधिक रुचाइएका अनमोलले यसपटक यो चलचित्रमा अभिनेत्री जसीताको जोडी भएर पर्दा शेयर गर्दैछन् ।

ट्रेलरमा फिल्मका प्रमुख कलाकार अनमोलसँगै अभिनेत्री जसीता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ । उच्च मेकिङ र पछिल्लो समय दर्शकमाझ आएका फिल्महरूभन्दा भिन्न स्वाद फिल्मले पस्केको ट्रेलरमा देखिन्छ ।
सो कार्यक्रममा बोल्दै अनमोलले आफ्नो करियरको दशौं वर्ष र यो फिल्म पनि आफ्नो दशौं फिल्म भएको भन्दै आफ्नो लागि ’फर्की फर्की’ विशेष रहेको बताए । अभिनेत्री जसीताले अनमोलसँग पहिलोपटक काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यो फिल्म आफ्नो लागि डेब्यू जस्तै रहेको र निकै मेहनत गरेको उनको भनाई छ ।

 

शाहिल खानले फिल्मको ट्रेलर तयार पारेका हुन् । प्रेम, रोमान्स र ’टाइम ट्राभल’को कथा फिल्मले बोल्ने संकेत ट्रेलरले गरेको छ । यो फिल्म वर्ष २०८१ को प्रतिक्षित फिल्म मध्येको एक हो ।

रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

फिल्म ’फर्की फर्की’मा सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको छायाँकन रहेको छ । जसमा सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ । यो चलचित्रको निर्माण सँयोजक शंकर पाण्डे हुन् ।