ट्रेलरमा दाम्पत्य सम्बन्धको समस्या लिएर आयो मनसरा


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

जारीको सफलता पश्चात अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अर्को चलचित्र मनसरा यही २१ बैशाखबाट रिलिज हुँदैछ । यो चलचित्रलाई पनि जारीका निर्देशक कवि उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । उपेन्द्रको दोश्रो निर्देशकिय चलचित्र मनसराको ट्रेलर बुधबार काठमाडौंमा रिलिज भएको छ । यो चलचित्रको ट्रेलर ४ मिनेट भन्दा लामो छ ।

यो चलचित्रमा दयाहाङ, मिरुना, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई, बिप्लव प्रतिकलगायतको अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका कुराहरुलाई थप व्याख्या गरेको छ। सार्वजनिक ट्रेलरमा टिजरका अलावा केही नयाँ पात्रहरु दृश्यमा देखा परेका छन् भने त्यसको साथमा मूल कलाकारको मनोदशा र सिनेमाले भन्ने कथालाई दर्शकका लागि थप कौतुहल्तापुर्ण बनाएको छ ।

टिजरमा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटतालाई ट्रेलरमा थप व्याख्या गरिएको छ भने बाजेकी नेवार्नी पत्नीसँगको अमिलो सम्बन्ध पनि ट्रेलरले पेस गरेको छ । ट्रेलरमा दयाको मिरुनासँग सम्बन्धलाई थप प्रष्ट बनाइएको छ । यी सब चिजले ट्रेलरलाई आकर्षक त बनाएको छ नै, त्यसका अलावा नेपाली सिनेमामा हुने गरेको दृश्य कथाको खडेरीलाई सिनेमामा सम्बोधन गर्ने देखाएको छ ।

ट्रेलरमा कवि उपेन्द्र स्पष्ट झल्किन्छन् । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।