दर्शकले रुचाए बोक्स्को घरको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ बैशाख

नेपालमा थ्रिलर तथा हरर जनराको चलचित्रहरु त्यति चलेका छैनन् । तर यतिबेला अभिनेत्री केकी अधिकारीको थ्रिलर र हरर जनराको चलचित्र ‘बोक्सीको घर’ चर्चामा छ । यो चलचित्र यही १४ बैशाखबाट रिलिज हुँदैछ । बोक्सीको घरको ट्रेलर यतिबेला चर्चामा छ ।

नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको एलओडीमा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको छ । ट्रेलर सार्वजनिक भइरहँदा उपस्थित व्यक्तिहरुले तालीले ट्रेलरको तारिफ गरेका थिए । ट्रेलरमा अभिनेत्री केकी अधिकारीको अभिनयलाई फिल्मकर्मीसँगै दर्शकले अत्यन्त रुचाएका छन् ।

उक्त कार्यक्रममा फिल्मकी निर्मात्रीसमेत रहेकी केकीसहित फिल्म युनिटको उपस्थिति थियो । ‘ट्रेलर सार्वजनिक भइरहँदा उहाँहरुले ट्रेलर मनपराइदिनुभयो । मेरो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएँ’, उनले भनिन्, ‘हामीले फिल्मको प्रचारका लागि फरक किसिमको मार्केटिङ गरिरहेका छौं । त्यही मार्केटिङको योजना अनुरुप एलओडीमा ट्रेलर देखाएका हौं ।’

फिल्मको टिजर, ट्रेलर र पोस्टरले चर्चा पाइरहँदा केही समयअघि सार्वजनिक ‘बुझिन मैले’ गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ । गत वर्षको होलीमा सार्वजनिक अभिनेत्री केकीको ‘बोक्सी’ लुक्सले पनि उत्तिकै चर्चा पाएको छ ।

यो चलचित्रमा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।