मोफसल यात्रामा डिग्री माईला टिम


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ बैशाख

चलचित्र ‘डिग्री माइला’ गत चैत ३० गतेबाट प्रदर्शनमा आएको हो । यो चलचित्रको बारेमा दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन काठमाडौंका हल–हलमा पुगिरहेका यसका प्रमुख कलाकारहरु आजबाट मोफसलका दर्शक भेटघाटमा निस्केको छ।

दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिममा मोफसल यात्रामा निस्केको हो । कोशी प्रदेशको राजाधानी बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताएका छन् । पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११ः३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछौं यसक्रममा उनीहरु विराटनगरका, विभिन्न सिनेमा हलमा पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

स्टार निर्देशक रामबाबु गुरुङ निर्देशित सिनेमाले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

तेश्रो दिनमा सिनेमाले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।

सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन् । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।