‘द रेड सुटकेस’ हेरेपछि डा. बाबुरामले सोधे, ‘के यस्तो नेपाली चलचित्र पहिले कहिलै बनेको थियो ?’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ बैशाख

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार बेलुका सुन्धारास्थित सिडिसी सिनेमामा छोरी मानुषी भट्टराईसँगै चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । यो चलिचत्र हेरेपछि उनले यसको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् । फिल्म हेर्दै उनले द रेड सुटकेस जस्तो फिल्म आजसम्म कतै पनि नहेरेको प्रतिक्रिया उनले दिए । फिल्म सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले द रेड सुटकेसको शैली प्रति जिज्ञाषा राखेका थिए । यो चलचित्रलाई पूर्व प्रधानमन्त्री बाबुरामले फरक र अनौठो चलचित्रको रुपमा चर्चा गरे ।

‘यस्तो खाले नेपाली सिनेमा पहिले कहिलै बनेको छ ? कस्तो सिनेमा भन्छन यसलाई ?’ बाबुरामको प्रश्न थियो । जवाफमा लेखक तथा निर्देशक फिडेल देवकोटाले आफूले म्याजिक रियालिजमको प्रयोग गरेर सिनेमा बनाएको उत्तर दिएपछि बाबुरामले थपेका थिए, ‘ग्याब्रियल मार्खेजको जस्तो हैन त ?’ फिडेलले बाबुरामको ठम्याइमा सहमति जनाएका थिए ।

बाबुरामले फिल्मको विषयवस्तु समसामयिक भएको र दृश्यहरु पनि सुन्दर रहेको प्रतिक्रिया दिएका थिए । फिल्मको प्रशंसा गरिरहँदा उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराएका थिए ।

बाबुरामसँगै फिल्म हेर्न आएकी मानुषी भट्टराईले भने फिल्म नेता तथा नीति निर्माण गर्ने ओहदामा बसेका सबैले अनिवार्य रुपमा हेर्नुपर्ने खालको रहेको टिप्पणी गरेकी थिइन् ।

‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौँ भन्ने कुरा फिल्मले छर्लङ देखाएको छ । यो आम दर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने फिल्म बनेको छ । मलाई त फिल्म असाध्यै सुन्दर लाग्यो,’ मानुषीको भनाइ थियो ।

चैत ३० गतेबाट मुलुकका ४ दर्जन भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको चलचित्र द रेड सुटकेसले बलियो वर्ड अफ माउथ पाएको छ । लेखक, कवि तथा कलाकारले चलचित्रको मुक्तकण्ठले प्रशंसा गर्दै चलचित्रले कलात्मक फिल्म निर्माणको इतिहासमा नयाँ मानक स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।

आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो । यस्तै संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा यो चलचित्र प्रदर्शन भईसकेको छ ।