नयाँ वर्षमा डिग्री माईला हाउसफुल


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

चलचित्र ‘डिग्री माइला’ले शुक्रबारबाट रिलिज भएको हो । यो चलचित्रको आज शनिबार नयाँ वर्षमा देशैभर राम्रो व्यापार भएको निर्माण पक्षले जनाएको छ । शुक्रवार बिहानी शोमा औषत सुरुवात गरेको सिनेमाको शनिबार हाउसफुल व्यापार भएको वितरक गोबिन्द शाहीले बताएका छन् ।

आज शनिबार बिहानैदेखि साँझसम्मका शोमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको वितरक गोविन्द शाहीले उत्साहित हुँदै बताए । प्रायः सबै शोहरु बिहानैदेखि हाउसफूल भएको शाहीको भनाइ छ । सिनेमाले हाउसफूल व्यापार गरेको छ । सिनेमाहलहरुले ‘डिग्री माइला’लाई राति ११ः४५ सम्मको शो उपलब्ध गराएका छन् । सिनेमाले पाएको सवै शोमा आक्रमक रुपमा टिकटहरु विक्री भइरहेका थिए । केही सिनेमा हलले शोसमेत थपेका छन् ।

सिनेमाप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् । आज अभिनेता दयाहाङको जन्मदिनसमेत परेकाले उनका लागि यो जन्मदिनको उपहारसरी भएको छ ।

गत वर्ष वैशाख १ गते रिलिज भएको दयाको ‘जारी’ले यस्तै साथ दर्शकबाट पाएको थियो । दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन १० बजे बिग मुभिज कमलपोखरी पुगेका दयालाई हलमै एक्कै स्वरमा जन्मदिनको शुभकामना दिएका थिए । अभिनेता दयाले दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका थिए ।

अभिनेता दयाले यसरी जन्मदिनको दिन दर्शकको उत्साहसँग जन्मदिन मनाउदै फ्यानलाई खुशी बनाएर फकाउन सक्दाको सन्तुष्टी बेग्लै हुने बताए । डिग्री माइलाले दिन खोजेको सन्देश ग्रहण गरेको प्रतिक्रिया हल भिजिटको क्रममा दर्शकबाट मिलेको पाउँदा आफुहरु त्यसमा सफल भएको आभाष गरेको सुनाए ।

सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेलले दर्शकबाट यो लेवलको साथ पाउँदा खुही मिल्ने बताए । बाँसुरी फिल्मस्ले हरेक पटक दर्शकको चाहाना अनुसार नै सिनेमा निर्माण गरिरहेकाले उनीहरुले हामीलाई विश्वास गरेका बताउँछन् । हाम्रो व्यानरलाई अहिलेको अवस्थामा दर्शकलाई निराश बनाउन छुट नभएको बताए ।

सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्। रामबाबु गुरुङ निर्देशित सिनेमामा आफ्नो मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा प्रस्तुत गरिएको छ ।

पर्दामा यसपटक पनि दया र रामबाबुको जोडीले आफूलाई प्रमाणित गरेको वितरक तथा हलवालाको भनाइ छ । सिनेमामा दयाका अलावा आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ ।