गीतकार राजेन्द्र थापा सम्मानित, गायिका निशा देसार पुरस्कृत


ब्युटी न्युज नेपाल
मकवानपुर, २९ चैत

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालबाट वरिष्ठ गीतकार राजेन्द्र थापा सम्मानित र गायिका निशा देसार पुरस्कृत भएका छन् । यस वर्षको १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापालाई सम्मानित गरिएको छ । यस्तै २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार पुरस्कृत भएकी हुन । बिहीबार हेटौंडामा १५ औँ संस्करणको कार्यक्रम गरि दुबै पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्र थापाले दुबैलाई सम्मान प्रदान गरेका हुन् । सम्मानपछी गितकार थापाले आफूले देखेको भोगेको समाज, परिस्थितिलाई अक्षरमा उतारेर समाजमा सचेतना दिने गरेको बताए । “म बन्दुक बोकेको मान्छे हुं, तर कलम मेरो प्रिय हो“ उनले भने “भीम बिरागलाई सम्झिरहने छु, म उहाँको फ्यान हुं ।“

। उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया वःन श्रेष्ठको नाममा बिजुलीमाया वःन श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरेका हुन् । प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हुन् ।

२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले वरिष्ठ साहित्यकार नगेन्द्र थापालाई सम्मान गरेको थियो ।