पुजा सार्की पनि १० जेठमा थप दुई नेपाली चलचित्रसँग जुध्ने


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ चैत

अब नेपाली चलचित्र पुजार सार्की पनि आगामी १० जेठमै रिलिज हुने भएको छ । यो मितिमा यस अघि दुई नेपाली चलचित्र रिलिजको लागि घोषणा भईसकेका छन् । अनमोल केसी अभिनित फर्की फर्की र पुजा शर्मा अभिनित दान्भी आगामी १० जेठमा रिलिजको लागि घोषणा भएको थियो । यतिबेला यो मितिमा तेश्रो नेपाली चलचित्रको रुपमा पुजा सार्की रिलिजको घोषणा गरिएको छ ।

यो चलचित्रमा तीन अभिनताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसँगै अभिनेत्री अञ्जना बराइली, परीक्षा लिम्बु पनि छन् । यस्तै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय यसमा छ ।

यसैबीच यो चलचित्रको शुक्रबार दुई पोष्टर पनि सार्वजनिक गरिएको छ । एउटा पोस्टरले तीन अभिनेता आर्यन, प्रदीप र पल चौतारोमा हाँसिलो भावभँगीमा छन् । प्रदीपको बसाईले उनी दलित हुन भन्ने बुझिन्छ । अर्को पोष्टरमा एक पोस्टरमा कुनै शुभ कार्यमा अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेको देखिन्छ । बाँकी दुई अभिनेता आर्यन सिग्देल र पल शाह आ–आफ्नो चरित्रमा छन् । यी दुबै पोष्टरमा तीन अभिनेतालाई समान महत्व दिईएको छ । तर अभिनेत्रीहरु पोष्टरमा छैनन् ।

चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पारे। राउतले भने, “निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो। हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज हुनेछ।” निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन्।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन भने संगीतकार सुवास भुसालले निर्माण गरेका हुन् । यसमा सुवासकै संगीत, राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीको सम्पादन, उत्तम न्यौपानेको ध्वनी पुननिर्माण रहेको छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ।