‘कस्मेटिक व्यबसायीहरुका समस्या धेरै छन्‘


– अध्यक्ष रञ्जित पौडेल

 

पोखराबाट डेढ दशक अघि काठमाडौं आएका रञ्जित पौडेलको व्यवसायिक करिअर कस्मेटिकबाटै सुरु भएको हो । हाल नेपाल कस्मेटिक व्यबसायिक संघका अध्यक्ष रञ्जितले जागिरे जीवनबाट कस्मेटिकको काम सुरु गरेका हुन् । रोजगारीको क्रममा कस्मेटिक सम्बन्धि अनुभव हाँसिल गरेपछि उनले आफ्नै व्यबसाय सुरु गरे । अध्यक्ष पौडेल एक दशक भन्दा लामो समय देखि कस्मेटिक व्यबसायमा आबद्व छन् । नेपालमा कस्मेटिकको उत्पादन, व्यबसायको अबस्था, कस्मेटिक व्यवसायीको अबस्था, कस्मेटिक व्यवसायिक संघको भावी योजना बारे अध्यक्ष रञ्जित पौडेलसंग व्युटी न्युज नेपाल डट कमका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

अध्यक्षज्यू, नेपाल कस्मेटिक व्यवसायिक संघ स्थापना गर्नुको कारण र यसको उदेश्य के थियो ?
नेपालमा कस्मेटिक व्यवसायीको सञ्जाल मुलुकभर फैलिएपछि हामीले आफ्नो हक, हित र अधिकारका लागि एक हुनुपर्छ भन्ने तय गर्यौं । अनि मेरै अध्यक्षतामा २०६९ सालमा नेपाल कस्मेटिक व्यवसायिक संघ गठन भएको हो । यो संघको गत १३ मंसिरमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनबाट साथीहरुले मलाई फेरी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गर्नु भयो । १३ सदस्यीय केन्द्रिय कार्यसमितिले कस्मेटिक व्यबसायीहरुको विभिन्न व्यवासयिक समस्या समाधानकालागि काम गर्नु नै संघको उदेश्य हो ।

 

व्यबसायीहरुको अरु थुप्रै संघ हुँदा हुँदै कस्मेटिक व्यवसायीकै संघ खोल्नु पथ्र्यो र ?
हो, व्यवसायीहरुको थुप्रै संघ छन् । समग्रमा राष्ट्रिय व्यापार संघ, व्यापार संघ पनि नभएको हैन । तर कस्मेटिक व्यबसायीका समस्याहरु फरक छन् । समस्याहरु त्यत्तिकै धेरै छन् । ती समस्यालाई समाधान गर्न हामी नै संगठित हुनु पर्ने अबस्था आयो । त्यसैले नेपाल कस्मेटिक व्यबसायिक संघ स्थापना गरेका हौं ।

 

नेपालमा कस्मेटिक व्यवसायीका मुख्य समस्याहरु के के हुन् ?
हाम्रा समस्याहरु धेरै छन् । यो स्वास्थ्यसँग जोडिएको दैनिक उपयोगको बस्तु हुँदा हुँदै पनि कस्मेटिकलाई सरकारले विलासिताको बस्तु भनेर धेरै कर तोकेको छ । कस्मेटिकलाई दैनिक उपयोग सामग्रीको सुचीमा ल्याउँदै यसमा हाल लगाईएको विलासितायुक्त सामानमा लाग्ने करलाई न्युनिकरण गर्न हामीले पहल गरिरहेका छौं । नेपालमा नक्कली (डुप्लिकेट) कस्मेटिकको बिगबिगी बढेकाले त्यसलाई रोक्दै सक्कली कस्मेटिक उपभोक्ता समक्ष पुर्याउन पहल गरिरहेका छौं । डुप्लिकेट होकी होईन भनेर केमिकल परीक्षण गर्न उपयुक्त ल्याव नभएकाले ल्याव खडा गर्न हामीले सरकारसंग पहल गरिरहेका छौं । नेपालमा प्रचुर मात्रामा जडीबुटी भएर पनि कस्मेटिक उत्पादन गर्न नसकिएको समस्यालाई निराकरण गर्न नेपालमै कस्मेटिक उत्पादनको लागि आबस्यक कारखाना स्थापित गर्न तर्फ हामीले पहल गरिरहेका छौं । यस्ता कारखानाका लागि आबस्यक मेसिन भन्सार सहुलियतमा ल्याउन पनि पहल गरिरहेका छौं ।

 

बजारमा कस्ता कस्ता कस्मेटिक डुप्लिकेट छन् ?
नाम चलेका राम्रो ब्राण्डका कस्मेटिक सामग्रीलाई यहाँ अर्कोले डुप्लिकेट बनाएर ल्याउने गर्छ । क्रिमबेशमा स्याम्पु, लोसन, बडी लोसन, फेसमा प्रयोग गरिने विभिन्न क्रिम, लिपिस्टिक देखि मेकअपसम्मको सामान समेत डुप्लिकेट आउने गरेको छ । यस्ता डुप्लिकेट बारे हामीले संघका सदस्य देखि सम्बन्धित कम्पनीलाई समेत जानकारी गराउँदै आएका छौं । डुप्लिकेट सामग्री बजारमा ल्याउने बिरुद्ध कारवाहीका लागि प्रशासन देखि सम्बन्धित निकायलाई जानकारी गराउने कार्य हामीले गर्दै आएका छौं । तर कारवाही सम्बन्धित सक्कली कम्पनीले नै चलाउने गरेको छ । नक्कली कस्मेटिक बिरुद्ध सचेतना अभियान पनि हामीले चलाउँदै आएका छौं ।

 

कस्मेटिक सामग्रीमा मर्करीको प्रयोग हुने गरेको र यसले छाला एवं स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेको समाचार बेला बेलामा पढ्न पाईन्छ । मकरीलाई पूर्ण बन्देज गर्न तर्फ संघको घारणा के छ ?

मर्करी स्वास्थ्यका लागि हानिकारक भनेर यसको प्रयोग रोक्न विश्वबाट प्रयास भईरहेको छ । नेपालमा आउने कतीपय क्रिममा मर्करीको प्रयोग पाईएको छ । मर्करीयुक्त क्रिमले मुहारको छालाको कालो दाग चाँडै हटाउने, छालामा चमक ल्याउने भएकाले यस्ता सामग्रीमा उपभोक्ता आकर्षित हुनु स्वभाविकै हो । यस्ता विभिन्न कारणले मर्करीयुक्त क्रिम नेपालमा आउने र प्रयोग हुने गरेको छ । तर यसले छालासँगै स्वास्थ्यलाई पनि प्रत्यक्ष असर पर्छ । कस्मेटिकमा मर्करीको प्रयोग कत्तिको गरिएको छ भनेर परिक्षणको लागि यहाँ ल्याब हुनुपर्छ भन्ने हाम्रो माग छ । हामीले जाने बुझेसम्म मर्करीयुक्त कस्मेटिकको बिक्री तथा प्रयोग रोक्ने कोसिस गरेका छौं । मुलत सस्तो तथा नक्कली कस्मेटिकमा मर्करीको बढी प्रयोग हुन्छ । सक्कली र ब्राण्डेड कस्मेटिकमा मर्करीको प्रयोग नगरिने हुँदा सक्कली सामग्रीको प्रयोगले मर्करीबाट बाच्न सकिन्छ । यस तर्फ संघले पहल पनि गरिरहेको छ ।

 

नेपालमा कस्मेटिक उत्पादनको अबस्था कस्तो छ ?

कस्मेटिक उत्पादनको लागि नेपाल उपयुक्त देश हो । यहाँ हिमाल देखि तराईसम्म विभिन्न जडिबुटी पाइन्छ । त्यसैले यस्ता जडिबुटीबाट हामीले बिदेशबाट आयात गरिएको भन्दा अझ सस्तोमा थप गुणस्तरीय कस्मेटिक उत्पादन यहाँ गर्न सक्छौं । यस्ता उत्पादन नेपाली बजारसँगै र बिदेश निर्यात गर्न सकिन्छ । अहिले नेपालमा केही मल्टिनेशलन कम्पनीहरुले यहीं कस्मेटिक उत्पादन गरेर बजारमा राम्रो स्थान ओगटी रहेका छन् । कस्मेटिक उत्पादन गर्ने नेपाली कम्पनी निकै कम छन् । नेपालमा कस्मेटिक सामग्री उत्पादनको भविष्य राम्रो छ । आउँदा दिनमा हाम्रो पनि कस्मेटिक उत्पादन गर्ने सोच रहेको छ ।