पक्राउ पछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थप्न लगियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

सुन तस्करी काण्डमा मुछिएको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ परेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याईएको पनि प्रहरीले जनाएको छ ।

महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताएका छन् । उनलाई पक्राउ गर्न दुई दिन अघि नै पक्राउ पुर्जी जारी गरिएपछि आज पक्राउ गरिएको हो ।

महरालाई यतिबेला नै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लाने तयारी हुँदैछ । महरालाई दुई घन्टा अघि सीआईबीको स्कारपिओमा राखेर विमानस्थलबाट सीआईबी कार्यालय ल्याईएको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।

यसैबीच सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।