निफमा विश्व सिनेमामा लैंगिकताको वहश


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

काठमाडौंमा विश्व सिनेमामा रहेको लैंगिक विभेदका बारेमा वहश भएको छ । कलाक्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रि वक्ताहरुबिच उक्त वहश भएको हो । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौँथो दिन यो बहश गरिएको हो ।

कला क्षेत्रमा लैंगिक विभेदसँग सम्बन्धित वहश कमै हुने गरेको सो कार्यक्रममा अभिनेत्री रिमा विश्वकर्माले बताइन्,‘हाम्रो पितृसत्तात्मक समाज छ । त्यसकै छाया फिल्ममा पनि परेको देखिन्छ । पर्दामा देखिने समय देखि पाउने परिश्रमिक र चित्रणका हिसाबले पनि विभेद भइरहेको ।’ फिल्म क्षेत्रमा दश वर्षको अनुभव बटुलेकी विश्वकर्माले भनिन्, ‘पुरुष पात्रलाई अझ बलियो बनाउनको लागि मात्रै प्रयोग भएको पाइन्छ । ९० प्रतिशतसम्म फिल्मा पुरुषलाई नै केन्द्रिय पात्र बनाइएको हुन्छ ।’ सिनेमाले मनोरञ्जन दिने मात्र नभएर दर्शकलाई शिक्षित बनाउने, सचेतना फैलाउने, प्ररणा दिने काम पनि गर्न सक्ने र त्यसमा मेकरको ध्यान जानुपर्नेमा उनले जोड दिइन् । आफूहरुमाथि भइरहेका विभेदकारी व्यवहार बुझ्नको लागि पनि आफूलाई शिक्षित गर्दै लानुपर्ने रहेछ भन्ने पनि उनले थपिन् ।

लैंगिक विभेद सिनेमासँग मात्र सम्बन्धित विषय नरहेर यो विश्व कै समस्या रहेको वक्ताका रुपमा रहेकी बौद्ध भिक्षु तथा संगीतकर्मी आनी छोइङ डोल्माले बताइन् । ‘फिल्म हेरेर धेरै पिटाइ खाएको छु । फिल्मबाट धेरै ज्ञान पाएको छु । यो मेरो जीवनको ठूलो हिस्सा बनेको छ ।’ फिल्म हेरेको अनुभव बताउँदै लैंगिक विभेदबारे उनले भनिन्, ‘परिवर्तन पनि भइरहेको जसको उदाहरण हामी नै हौँ । परिवर्तन गरिएको छ, कानुन बनेको छ । त्यसमा विश्वास गर्न र व्यवहारमा उतार्न समय लागिररहेको छ ।’ फिल्ममा होस् या वास्तविक जीवनमा महिला र पुरुष दुवै हिरो हुन सक्ने उनले बताइन् ।

यस्तै श्रीलंकन फिल्म क्षेत्रको पनि नेपालको भन्दा धेरै फरक अवस्था नरहेको श्रीलंकन पत्रकार तथा अनुसन्धाता दिलरुक्षी हान्दुन्नेत्तीले बताइन् । नेपाल, श्रीलंका या साउथ एसियाको मात्रै नभएर यो विश्वकै साझा समस्या हो जस्तो लाग्छ । तर, श्रीलंकामा महिलाहरु नै यो क्षेत्रमा आएपछि भने महिला केन्द्रित कथा बन्दै आएको छ र त्यसले केही परिवर्तनको संकेत पनि गरिरहेको छ । दृश्यभाषाको शक्तिका बारेमा बोल्ने क्रममा टेलिसिरियलको उदाहरण दिँदै उनले भनिन्, ‘त्यो टेलिसिरियलमा महिलालाई बुझ्ने, उनीहरुलाई सम्मान गर्ने, भावनात्मक रुपमा सपोर्ट गर्ने पुरुष पात्र थियो । त्यसको केही समयपछि त्यस्ता पात्र वास्तविक जीवनमा देखिन थाल्यो ।’

यो समस्याबाट युरोप पनि मुक्त नभइसकेको जर्मन अभिनेत्री केरिन एन्जेलले बताइन् । उनले भनिन्, अहिले पनि धेरै परिवर्तन भएको छैन । फिल्ममा महिलाको रोल पुरुषसँग बोल्नको लागि मात्र वा उनीहरुसँग सम्बन्धमा रहेको मात्रै देखाउने प्रचलन विश्वमै छ । यसका लागि महिला कथाकार, पटकथाकारको उपस्थिति सबैभन्दा महत्वपूर्ण देखिन्छ । साथै सबै मेकरले महिला पात्रका बारेमा गम्भिरतापूर्वक सोच्न पनि उनले आग्रह गरिन् ।

सिनेमा अभिव्यक्तिको एउटा शक्तिशाली माध्यम हो भन्नेमा नीति निर्माणको तहमा रहेका व्यक्ति तथा मेकरहरु सचेत हुनुपर्नेमा पत्रकार शिवानी थापा बस्न्यातले पनि जोड दिइन् । ‘हामीले सोचेको, देखाउन खोजेको कुरा ठिक छ कि छैन भनेर धेरै डिस्कोर्स, कन्भर्ससेसन हुनुपर्छ, त्यसमा वहश हुनुपर्छ ।’ उनले भनिन्, ‘यसले स्थापित गर्ने न्यारेटिभले अहिलेका दर्शकलाई मात्र नभएर पुस्तौँलाई प्रभाव पार्न सक्ने माध्यम फिल्म हो हो । जसरी फिल्ममा पुरुषको चित्रण गरिन्छ, त्यसले दैनिक जीवनमा पार्ने प्रभावका बारेमा हामी अझै सचेत छैनौँ । जिम्मेवार भएर यसलाई गम्भिर रुपमा लिन जरुरी छ जस्तो लाग्छ ।’ साथै सिनेमा भित्रै विभेद नगरी यो माध्यमको प्रयोग गर्दै सामाजिक न्यायको पक्षमा वकालत गर्नुपर्नेमा उनले जोड दिइन् ।

सिनेमा बनाउने क्रममा यसले उठान गर्ने विषयका बारेमा आवश्यक अनुसन्धान तथा गृहकार्य नभएको जनाउँदै उनले भनिन्, ‘यस क्षेत्रमा हामीले भोगेका अनुभव साट्नु निकै महत्वपूर्ण हुन्छ । र विभेदको पर्खाल जति छिटो भत्कायो त्यति नै छिटो यो क्षेत्र, र यसका सम्भावना फराकिलो हुँदै जान्छ ।’ व्यवहारमा महिलालाई बस्तुको रुपमा प्रयोग गरेर मन्दिरमा देवीको पूजा गरेर केही फाइदा नहुने आनीले बताइन् । साथै, २० वर्षअघि बौद्ध मन्त्रलाई संगीत बनाएर गाउँदा आफूलाई नस्विकारेको बौद्ध समूदायले अहिले सहर्स स्विकार्नु आफ्ना लागि ठूलो उपलब्धी रहेको तथा परिवर्तनको एउटा शक्तिशाली उदाहरण रहेको पनि उनले जनाइन् । त्यस्तै करुणा र मानवता भएका सिनेमा पनि आफ्ना लागि बुद्धत्व दर्शन रहेको उनले बताइन् ।