महाजात्रा ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

केही वर्ष यताबाट नेपाली चलचित्र नेपालसँगै अन्तराष्ट्रिय बजारमा पनि रिलिज हुन थालेका हुन् । यसै क्रममा नेपाली चलचित्र ‘महाजात्रा’ पनि नेपालसहित अन्तराष्ट्रिय बजारमा एकसाथ प्रदर्शन हुने भएको छ ।

महाजात्रा नेपालसँगै प्रवासमा रहेका नेपालीको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो । अन्तराष्ट्रिय बितरक एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् ।

उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ । अर्थात् यस अगाडि साउदी अरेबियामा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन । एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलााकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।