हलमै गएर महाजात्र हेर्न मेयर हर्क साम्पाङको अपिल


ब्युटी न्युज नेपाल
धरान, ३० फागुन

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले सिनेमा हलमै गएर चलचित्र हेर्न आग्रह गरेका छन् । धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’कार्यक्रममा बोल्दै मेयर साम्पाङले चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्र मोवाईलमा नभएर हलमै गएर हर्न दर्शकलाई आग्रह गरेका हुन् ।

उनले धरानमा चलचित्र स्टुडियो खोल्ने योजना पनि सुनाए । आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने जानकारी दिँदै मेयर सम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको जिकिर गरे,‘नेपाली फिल्मलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले फिल्मलाई हेर्यो र सोच्यो भन्ने आभाष पक्कै हुनेछ । म फिल्म, कला र साहित्यसँग जोडिएको र गम्भीर रुपमा सोच्ने व्यक्ति हुँ’, मेयर साम्पाङले भने,‘धरानमा फिल्म छायाङ्कनका लागि सहज हुने गरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्छु ।’

मेयर साम्पाङले अभिनेता हरिवंश आचार्यको अभिनयको खुलेर तरिफ गरे । महाजात्रामा हरिबँश हुनै नै चलचित्र राम्रो बन्नु हो भन्दै मेयरले थपे,‘यो महाजात्रा पक्कै राम्रो बनेको छ । किनकि हरिवंश जस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु’,
संवाद कार्यक्रममा अभिनेता हरिवंश आचार्यले धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रुपमा व्याख्या गरे । ‘यो फिल्मको लागि राम्रो स्थान हो । मेयर साबले भन्नुभए झैँ फिल्मकर्मी यहाँ गतिविधि बढाउने छन् । हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ’, उनले भने ।

फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठुलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । उनले, फिल्म छायाङ्कनका क्रममा आउँदा लोकेशनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे ।

यस्तै अभिनेत्री वर्षा राउतले पनि लोकेशनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन् । उनले महिला कलाकारहरूलाई छायाङ्कनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन् ।

फिल्म ‘महाजात्रा’का नायक विपिन कार्कीले छायाङ्कन स्थलको कहिलेकाहीँ लफडा पर्ने बताए । उनले यसमा यसमा सहजता भयो भने काम गर्न सजिलो हुने धारणा राखे । कलाकार रवीन्द्र झाले फिल्म छायाङ्कनका लागि स्टुडियोको आवश्यकता रहेको बताए । उनले, धरानमा पनि फिल्म स्टुडियो भएको खण्डमा काम गर्न सजिलो हुने बताए ।

कार्यक्रममा याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नवीन मेन्याङ्बो, अनाम रङ्गमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र फिल्मको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए । चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिम फिल्म प्रचारका लागि देश दौडाहामा छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।