नयाँ तीन मन्त्री नियुक्त, राष्ट्रपतिसँग लिए सपथ


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ फागुन

प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाली काँग्रेस लगायत यसअघिका सबै राजनीतिक पार्टीसँगको गठबन्धन आजैबाट भँग गरेर नयाँ मन्त्रीमण्डल गठन गरेका छन् । नयाँ सरकारको लागि नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्झौता भएपछि यस अघिको मन्त्री मण्डललाई प्रधानमन्त्री दाहालले भँग गरेका हुन् । अहिले एमाले, माओबादी र रास्वपाका एक एक जनालाई दाहालले नयाँ मन्त्रीको रुपमा नियुक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्याल नयाँ मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुले मन्त्री पदको आजै शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त भएका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आफ्नै निवासमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यी मन्त्रीहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उनीहरुको कार्यभार पछि तोकिनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार आफैंले सम्हालेका छन् ।