गोर्खा वारियरले चार दिनमा नेपालमा कमायो १ करोड ५१ लाख


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

ऐतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ को चार दिनको बक्स अफिस कलेक्सन सुखद रहेको छ । तिहारको अबसरमा रिलिज भएको चलचित्र दिमाग खराबपछि नेपाली चलचित्रको व्यापार दयनीय अबस्थामा रहेको बेला चलचित्र गोर्खा वारियरले अहिले राम्रो व्यापार गरेको छ । मिलन चाम्स निर्देशित यो चलचित्रले नेपालबाट चार दिनमा १ करोड लाख लाख रुपैयाँको व्यपार गरेको यसका वितरण सँयोजक करण क्रेजीले बताएका छन् ।

आज यो चलचित्रका तर्फबाट सञ्चारकर्मीहरुलाई धन्यबाद ज्ञापन गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसका निर्देशक मिलन चाम्सले भने,‘अहिलेको अबस्थामा पनि हाम्रो चलचित्रले शुक्रबारबाट सोमबारसम्म ४ दिनमा नेपालमा एक करोड ५१ लाख रुपैयाँको व्यापार गरेको छ । काठमाडौंमा त व्यापार राम्रो छ नै, धरान, नारायणघाट, हेटौंडा, बुटबल, पोखरा, दाङ, दमौलीलगायतका शहरमा पनि एकपछि अर्को शोहरु हाउसफुल भएको खबरले हामीलाई हौसला मिलेको र दर्शकप्रति यो मायाँका लागि हामी आभारी छौं ।’

मुलत यो चलचित्रमा लाहुरे तथा विभिन्न समुदायका दर्शकहरु समुह बनाएर हलमा आउने क्रम जारी रहेको छ । सोही कारणपनि आफुहरुले सोचेको भन्दा निकै फरक शैलीको व्यापार यसको रहेको निर्देशक मिलन चाम्सले बताए ।

यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले बिहिबार १७ फागुनसम्म काठमाडौंका शोहरु प्राय बुक भईसकेको जानकारी गराए,‘अबको शुक्रबार र शनिबारका लागि पनि केही शोहरुको अग्रिम टिकट बिक्री भएको जानकारीले अर्को साता पनि गोर्खा वारियरले राम्रो व्यापार गर्नेमा हामी ढुक्क छौं ।’ करणले भने ।

हुन पनि काठमाडौंसहित मोफसलका केही हलहरुमा चलचित्रको क्रेज राम्रो छ । यो चलचित्र हेरेका दर्शकबाट मिलेको राम्रो वर्ड अफ माउथले गोर्खा वारियर अझै केही हप्ता चलचित्र भवनमा प्रदर्शन हुनेमा निर्माण पक्ष विश्वस्त छन् ।

यो चलचित्रका अभिनेता रितेश चाम्सले पनि चलचित्रको सुखद व्यापार प्रति खुसी व्यक्त गरे । दर्शकहरुको यो अपार मायाँले आफुहरु निकै खुसी भएको यी अभिनेताले बताएका छन् । सबैतिरबाट निरन्तर पाईरहेको दर्शकको सो साथ साँच्चै प्रसँसनीय भएको पनि रितेशले बताए ।

मलाया इमरजेन्सी जंगल वारमा सन् १९४९ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा केन्द्रित रहेको बनेको यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, बिजय लामा, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप घले, त्रिचु राई, आरुस जंग सारु मगर, दिग्गज खत्री, सिद्धार्थ सिंहलगायतका कलाकारको अभिनय छ ।

गोर्खा वारियर चलचित्रमा एलिश कार्की र सुरेश राईको संगीत रहेको छ भने रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रको पटकथा, संवाद तथा लेखन निर्देशक चाम्स र गीरिराज घिमिरेको रहेको छ ।

चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्माताको रुपमा सुमन राई र सुस्मिता वाईवा रहेकी छिन् ।