सँसद भवन भित्रै आन्दोनकारी छिरेपछि ३२ जना प्रहरीको जिम्मेवारी खोसियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ फागुन

नेपालको सँसद भवन भित्रै आन्दोलनकारीहरु प्रवेश गरेपछि अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको ३२ जना टोलीको त्यहाँको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै ति सबैजनालाई एकैसाथ जिम्मेवारीबाट हटाएको छ । जबरजस्ती सँसद भवनभित्र छिर्ने ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई चक्मा दिएर आज दिउँसो लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरका थिए ।

देशभरका लघुवित्तपीडितहरू केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमबार दिउँसो संसद भवन परिसरमा नाराबाजी गरेका थिए । सोही क्रममा आन्दोलनकारीहरु सँसद भवन छिरेपछि त्यहाँ एक प्रकारको हँगामा नै भयो । अन्तत गृहमन्त्रीले नै यो बिषयमा प्रहरी प्रमुखसँग सोधपुछ गरेपछि संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो ।

यस्तो घटना भएपछि तत्कालै घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेका छन् ।

उनले काठमाडौंका सबै सुरक्षा प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, काठमाडौं जिल्ला प्रहरी प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका अधिकारीहरूलाई गृहमन्त्री श्रेष्ठले आकस्मिक रूपमा मन्त्रालयमा डाकेका हुन् ।

उनीहरूलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी कसरी भयो भनेर प्रश्न गरेका छन् । गृहमन्त्रीको सोधपुछपछि इन्स्पेक्टरसहित ३२ जनालाई त्यहाँबाट हटाएर उनीहरुको ठाउँमा अर्को टिम पठाइसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।