भजन शिरोमणि भक्तराज आचार्यको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ फागुन

बरिष्ट गायक एवम् संगीतकार भजन शिरोमणि आज भक्तराज आचार्यले सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । उनलाई उपचारको लागि घर (भैंसेपाटी)बाट ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै दिनको करिब ४ः३० बजे निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लागिएको संगीतकार चेतन सापकोटाले जनाएका छन् ।

भजन शिरोमणीको मँगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली कार्यक्रम राखिएको पनि सापकोटाले जनाएका छन् । अहिलेका चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यका पिता हुन भक्तराज आचार्य ।

१९९९ सालमा धनकुटामा जन्मिएका उनको बाल्यकाल भारतको डुवर्स क्षेत्रमा बितेको थियो । गायक बन्नकै लागि डुवर्सबाट काठमाडौं आएका उनी पछि नेपाली सुगम संगीत तथा भजनका लोकप्रिय गायक बन्न सफल भएका थिए । उनले भजनशिरोमणिको उपाधि नै पाएका थिए ।

३० को दशकको सुरुवातसँगै उनको सांगीतिक जीवनले रूप पाएको थियो । ’होसियार यस बखत समयको मुखलाई चिन…’ गीतबाट उनी २०३० सालमा काठमाडौंमा भएको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उत्कृष्ट भएका थिए । प्रतियोगितामा पहिलो भएपछि भक्तराजले रेडियो नेपालमा जागिर सुरु गरेका थिए । त्यसपछिबाट उनले २०४६ सालसम्म करिब १६ वर्ष सक्रिय गायकको रुपमा नेपाली संगीत क्षेत्रमा योगदान दिए ।

२०४६ सालमा जिब्रोको क्यान्सर भएपछि उनले त्यसपछिबाट गाउन सकेनन् । उनको स्वर र सँगीतमा करिब ४५० वटा गीतहरु दर्शक श्रोता माझ आएका छन् ।

राष्ट्रपतिद्वारा दुःख व्यक्त

भजन शिरोमणी भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । सोमबार बेलुका ट्वीट गर्दै राष्ट्रपतिले आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
दुःखको घडीमा स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत राष्ट्रपतिले व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएकोमा उनलाई श्रद्धाञ्जली दिएका छन् ।

आचार्यको निधन भएपछि अध्यक्ष ओलीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका हुन् । उनले स्वर्गीय आचार्यले गाएको जहाँ छन् बुद्धका आँखा बोलको गीत स्मरणसमेत गरेका छन् ।

भक्तराजका चर्चित गीतहरू: 

जति चोट दिन्छौ देऊ मायालु…

सबै बेहोसी नशा पिएर…

हजार आँखा हेर्ने मेरी मायालुलाई…….

भुल्नै सकिनँ त्यो क्षण मिलनको…

जीवन भनुँ त घात छ…

मुटु जलिरहेछ, यो मन गलिरहेछ…

सबैबाट तिरस्कृत…

यो कथा सुरु गरेर…

आँसुजस्तो हो जीवन…

हजार सपनाहरूको माया लागेर आउँछ…

जहाँ छन् बुद्धका आँखा…

कोही नगरोस् प्रेम अमर….

भक्तराजका चर्चित भजनहरू

जगतकी आमा…

अनन्तदेखि बगिरहेको…

जय गुरु गणपति मंगल मूर्ति…

श्रीराम प्रभुको चरणकमलमा…

प्रेम प्रभुको शाश्वत् धारा…

बजिरहेछ बाँसुरी…

भगवान् जीवन नाऊ…

भव सागरमा डुबिसकेँ म…

रहेन छ केही…

कति लिन्छौ परीक्षा भगवान्…

दु:खैदु:ख मिल्दा पनि…

दुर्गे देऊ भक्त्ति मलाई…

न धन त्यागेर त्यागी हुन्छ…

हामी भुलेछौँ धन जन मधले…

हे मनमोहन मुरलीवाला…

सजल सजल यो नैन भिखारी…

राम यहीँ छन् श्याम यहीँ छन्…

भगवान् दर्शन कसरी पाऊँ …?

ईश्वर प्रभु नै अन्तर्यामी…

एक दिन मैले प्रभुसँग सोधेँ…

तन मन वचनले…

सब निदाए प्रभु…

लौन अब मेरो प्रभु…