खजुरे ब्रो २८ बैशाखमा हलमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

चलचित्र ‘खजुरे ब्रो’ को टिमले शनिबार धरानमा एक समारोहबीच यो चलचित्रको फस्टलुक (पोस्टर) सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । यो चलचित्र आगामी वैशाख २८ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।

पूर्वी नेपालमा ’एथलेटिक्स’ को महाकुम्भ मानिने ’धरान रन’ को १२औं संस्करणको अवसरमा धरानमा पोस्टर र रिलिज मिति सार्वजनिक गरिएको हो । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । ’धरान रन’ मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको चलचित्रले दर्शक मन जित्ने बताए ।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ । यो चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह,नवीन मानन्धर रहेका छन् । चलचित्रका अन्य कलाकारमा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई रहेका छन् ।

चलचित्रको छायाँकनको क्रममा धरानबासीले धेरै नै सहयोग गरेको हुनाले उहाँहरुलाई धन्यवाद पनि दिने उदेश्यले धरानमै पोस्टर सार्वजनिक गरिएको मानन्धरले बताए। अभिनेत्री नीतिले आफ्नो डेब्यु चलचित्रको सुटिंग सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताईन्। धरान संग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफुलाई छोएकोले चलचित्र ’खजुरे ब्रो’ आफ्नो लागी बिसेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए ।

चलचित्रको टिमले मेयर हर्क साम्पाङ्गको श्रमदान अभियानमा सहयोग गरेको छ। हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृती पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको छ। उक्त अभियानमा चलचित्रका निर्माता÷लेखक तथा निर्देशक सुरज सुनुवार,कलाकार तथा निर्माता नवीन मानन्धर,कलाकार रेयर राई,पुस्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो।

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ । ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङ रहेको छ । साथै, यस फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् ।