चलचित्र सुगुपको काठमाडौंमा विशेष प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौं १२ फागुन

लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ को शनिबार काठमाडौंमा बिशेष प्रदर्शन गरियो । यो चलचित्रको सिटी सेन्टर, कमलपोखरी स्थित बिग मुभिजका दुई हलमा विशेष प्रदर्शन गरियो । किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिशेष प्रदर्शन भएको हो ।

दर्शक धेरै भएका कारण सिट नपुगेपछि यही फागुन १७ गते पनि सुगुपको पुनः प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्र हेरिसकेकपछि अधिकांस दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिए ।

यो चलचित्रमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बुको रहेको छ ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी गराउनु भयो ।