गीतकार कल्पनाले ल्याईन उपन्यास सञ्जीवनी


 

काठमाडौं, ६ फागुन
गीतकार, गजलकारका रुपमा परिचित कल्पना श्रेष्ठ कल्पपुञ्जले आफुलाई उपन्यासकारको रुपमा चिनाएकी छिन् । उनले नयाँ उपन्यास ‘सञ्जीवनी’ पाठकमाझ ल्याएर आफुलाई आख्यानकारको रुपमा समेत चिनाएकी हुन् । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा एक समारोहबीच वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, काठमाडौँ बहिरासंघका अध्यक्ष सत्यदेवी वाग्ले, त्रिविबिका उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले यो उपन्यासको संयुक्त विमोचन गरेका छन् ।


पुस्तकमा आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसासम्मका विषय मूल रुपमा उठान गरिएको छ । पुस्तकका बारेमा बोल्दै सत्यदेवी वाग्लेले भनिन् ‘सञ्जीवनी उपन्यास अपाङ्ग र अशक्तहरुलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेद हुन सक्छ ।’ आफैँ पनि आवाजविहीन हुनुभएकोले वाग्लेले दोभाषेको माध्यमबाट अभिव्यक्ति प्रस्तुत गरिन् ।
त्यस्तै कार्यक्रममा महेश पौडेल, प्रा.डा. रजनी ढकाल र समालोचक राम लोहनीलगायतले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरे । गीतकार तथा गजलकारका रुपमा स्थापित भइसकेकी कल्पना श्रेष्ठ कल्पपुञ्जको आख्यानको क्षेत्रमा दर्विलो उपस्थिति भएको उनीहरुले बताए ।
सो उपन्यास लेख्न बाल्यकालमा आफुले भेटेका बोल्न नसक्ने साथीहरुको पीडाले प्रेरित गरेको लेखक कल्पनाले कार्यक्रममा बताईन् । यस उपन्यासले पुरुषप्रधान समाजका पुरुष र नारीका असमान अवस्थिति बयान गरेको उनले जानकारी गराईन् । उनका अनुसार सो उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य रु. ३५० रहेको छ ।
समाजमा हुने गरेका अपाङ्ग तथा महिलाहरुप्रति गरिने दुव्र्यवहारलाई यस उपन्यासमार्फत उजागर गरिएको छ । अपाङ्ग तथा असक्तहरुले पनि अवसर पाएमा सपाङ्गसरह नै सामाजिक काम गरी स्थापित हुन सक्छन् भन्ने सन्देश पनि उक्त पुस्तकले दिएको छ । यस कृतिमा अलिकति गाउँ र अलिकति शहरमा फुलेको सञ्जीवनीमा सम्वेदनशीलता, नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण भेटिन्छ ।
आवाजविहीन तथा साहित्यीक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखी अक्षयकोष स्थापना गर्ने घोषणा गरी दुई लाखको चेक सोही समारोहमा कृतिकार कल्पना र उनका श्रीमान लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा साहित्यकार श्री गङ्गा पौडेललाई हस्तान्तरण समेत गरे ।