फिल्म सुगुपको विशेष प्रदर्शन हुने


ब्युटी न्युज नेपाल
काठमाडौं ४ फागुन

चलचित्र ‘सुगुप’ आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते विहीबार किराँत याक्थुङ चुम्लुङ, काठमाडौं, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिग मुभिज कमलपोखरीमा बिशेष प्रदर्शन हुने भएको छ । बिहिबार पत्रकार भेटघाट कार्यक्रममा निर्माणपक्षले सो जानकारी गराएको हो ।

चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार, संस्कृति सम्वध्र्दन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ । यो चलचित्रमा सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको के कस्तो भूमिका रहन्छ भन्ने देखाउन खोजिएको निर्माता सैलेन्द्र कुमार नाल्बोले कार्यक्रममा बताए ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रको गीतमा शब्द, यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङको, पास्व÷संगीत अशोक लोहरुङ राईको, स्वर राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुको छ ।

यस्तै चलचित्रमा, पटकथा देवेन्द्र खापुङ (सुरकेली)को, छायाङ्कन युवराज राई (वीरबहादुर)को, सम्पादन विपिन्न मल्लको, कलर करेक्सन रेनिस फागोको छ ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो छन् ।च नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फे, कला निर्देशन निश्चल कुलुङ राई, मेकअप विजय लामा, सञ्जु थलङ, भेषभुषाः बबिता नयोङहाङको छ ।

यो चलचित्रलाई निर्देशन लोकन साँवा लिम्बुले गरेका हुन् । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको कथा पनि लोकेन साँबा लिम्बुकै रहेको छ ।