नेपालसँगै अष्ट्रेलिया र सँयुक्त राज्य अमेरिकाबाट दयारानी आजदेखि रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

नेपाली चलचित्र ‘दयारानी’ आज शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । सन्तान नहुँदा एक दम्पत्तिले भोग्नु परेको कथामा यो चलचित्र आधारित छ । चलचित्रले दर्शकको मन जित्ने निर्माण पक्षको दाबी छ ।

यो चलचित्रले मुलुकका विभिन्न हलमा ११३ शो पाएको यसका निर्देशक माओत्से गुरुङले बताउका छन् । सिनेमाले दर्शक हलसम्म फर्काउने अपेक्षा उनको छ । निर्देशक माओत्सेका अनुसार ‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४ , आइएनआइले १२ शो दिएका छन् । त्यसैगरी रञ्जना, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीया पुनसँगै विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा हिजो बिहिबार नै रिलिज भएको छ । दुबै देशमा सिनेमाको करिब ४ सय शो निश्चित भइसकेको छ । सिनेमाको ओभरसिज वितरण खरिद गरेको सेभेन सिज इन्टरटेनमेन्टले हिन्दी र अंग्रेजी ठूला सिनेमाका बाबजुत नेपाली सिनेमाले धेरै शो पाएकोमा उत्साह व्यक्त गरेको छ ।

अमेरिकाका २३ थिएटरमा सिनेमाको १ सय ९७ शो पक्का भएका छन् । सिनेमा डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ। त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ । अष्ट्रेलियामा उल्लेख्यमात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा सिनेमा रिलिज भएको छ ।

सेभेन सीज इन्टरटेनमेन्टका अनुसार ‘दयारानी’ मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ । सेभेन सीज इन्टरटेनमेन्ट ग्लोबल सिनेमाको बक्स अफिसमा नेपाली सिनेमाहरू प्रदर्शन गर्न सक्ने प्रभावशाली कम्पनी हो ।